सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको खार–खलंगा सडक सुधार नहुँदा जोखिम मोल्दै स्थानीयवासी

२०७७ भदौ २२, ०६:०६ नरेन्द्र कार्की

दार्चुला: खार–खलंगा सडक मर्मत नहुँदा महाकाली नगरपालिका वडा नम्बर २ र ३ तथा नौगाड गाउँपालिकाका स्थानीयवासी अहिले जोखिम मोलेर आवत–जावत गर्दैछन् । गत साउन ५ गते आएको बाढी पहिराका कारण विभिन्न ठाउँमा पहिरो गएपछि सो क्षेत्रमा स्थानीयलाई आवत–जावत गर्न समस्या भएको हो।

उक्त सडकको डुङुरी क्षेत्रसम्म बाटो सुधार गरिए पनि त्यो भन्दामाथिल्लो क्षेत्रमा स्थानीयवासीलाई हिँड्डुल गर्न जोखिम छ। डुंङुरी भन्दा माथिल्लो क्षेत्रमा पहिराका कारण स्थानीयवासीले साँघुरो बाटोमा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । त्यहि पहिरामा पुरिएर एक बालकले यसअघि ज्यानसमेत गुमाइसकेका छन्।

काटै भन्दातल र मैखोली भन्दामाथिल्लो क्षेत्रमा अहिले पनि स्थानीयवासीलाई हिँड्डुल गर्न जोखिम भएको नौगाड–२ का बासिन्दा गायत्री रावलले बताए। अहिले महाकाली–३ काटैसम्म एक बोरा खाद्यान्न ढुवानी गरेबापत भरियाले रु चार सय भाडा लिन थालेका छन्। व्यापारी पदम महराले विगतमा एक बोरा चामल ढवानी गरेबापत ५० तिर्दै आएकामा अहिले रु चार सय पुगेको बताए। 

स्थानीयवासी नन्दन नगाल अहिले बाटोको जोखिमका कारण गाउँघरमै खाद्यान्नको मूल्य बढेको बताउँछन्। भारी बोकेर जाँदा कहाँ पहिरामा फसिन्छ भन्ने डरले यस्तो बाटोमा भारी बोक्न पनि जोखिम रहेको उनको भनाइ छ। सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश गौरव योजनाअन्तर्गत सो सडकमा ग्राभलको काम सूचार भएका बेला बाढी पहिरो गएको हो। अहिले पनि निर्माण व्यवसायीले सडक सुधारमा ध्यान नदिँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ।

पहिराले एक परिवार विस्थापित, आधादर्जन जोखिममा
व्यास गाउँपालिका–५ तिगरममा घरतलबाट पहिरो जान थालेपछि एक परिवार विस्थापित भएको छ। महाकाली नदीले बस्ती तलबाट कटान शुरु गरेपछि स्थानीयवासी कलावती कुवँरको परिवार विस्थापित भएको हो। यस्तै सोही क्षेत्रमा बस्ने आधा दर्जन बढी परिवार पहिराको उच्च जोखिममा छन्। 

तिगरम पुल भन्दातल्लो क्षेत्रमा अहिले महाकालीले पूरै कटान गरिरहेको छ। तटबन्ध समयमै निर्माण गर्न नसके तिगरम बस्ती पहिरामा पर्ने खतरा बढेको स्थानीयवासी धना कुवँरको भनाइ छ। यस्तै तारा कुवँर, नन्दा कुवँर, हेमन्ती कुवँर, राजमति कुवँर, गंगा कुवँर र धाना कुवँरका घर पहिराको उच्च जोखिममा परेका छन्। धानाको घर सडक काट्दा जोखिममा परेको हो।

तिगरम पुल क्षेत्रदेखि झण्डै पाँच सय मिटर क्षेत्रमा तटबन्ध लगाउन पटक–पटक गाउँपालिका तथा महाकाली नदी नियन्त्रण आयोजनालाई आग्रह गर्दै आइरहेका पीडितहरुले बताएका छन्। यहाँका महिलाले अहिले पनि बस्ती जोगाउन तत्काल तटबन्धको व्यवस्थापन गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस