सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा खलंगा खानेपानीले चर्काे शुल्क लिएको भन्दै उपभोक्ता रुष्ट

२०७७ भदौ २२, ०३:०३ आशिष मल्ल

धनगढी : खानेपानीको हाहाकार भएको डडेल्धुरा सदरमुकाममा तेस्रो साना शहरी खानेपानी आयोजना कार्यान्वयनमा आएको छ। खानेपानीको अभावलाई समाधान गर्न तीस करोड बढी लगानीमा खलंगा खानेपानी उपभोक्ता समितिमार्फत साना शहरी खानेपानी योजना भरखरै सम्पन्न भएको छ।  

तर उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई खानेपानी उपभोग गरेवाफत लिने गरेको शुल्क चर्को भएको भन्दै उपभोक्ताहरु रुष्ट भएका छन्। उपभोक्ता समितिले साना शहरी खानेपानी आयोजना सम्पन्न गरे लगत्तै चर्काे शुल्क निर्धारण गरेकोमा उपभोक्ताहरु रुष्ट बनेका हुन। 

गत साउनदेखि खलंगा खानेपानी उपभोक्ता समितिले न्यूनतम ८ यूनिट (आठ हजार लिटर पानी) प्रयोग गरेवाफत २५० निर्धारण गरेको छ। भने, ८ देखी १२ यूनिटसम्म प्रति युनिट ५० रुपैया र १२ यूनिट भन्दामाथि प्रति युनिट थप १०० का दरले कायम गरेको छ। 

‘सामान्य रुपमा पानी प्रयोग गरेपनि महिनाको एक हजार भन्दा बढी शुल्क आयो’ खलंगाका एक उपभोक्ताले भने, ‘यसरी चर्को शुल्क तिरेर कसरी खानेपानी प्रयोग गर्ने होला।’ उनी जस्तै अन्य उपभोक्ताले हावाबाट समेत मिटर घुम्ने गरेको गुनासो गरेका छन्। ‘सुरुमा धारा खोल्दा हावा आउँछ, त्यसैले मिटर घुमाइदिन्छ’ अर्का एक उपभोक्ताले गुनासो गरे।

अहिले जिल्ला सदरमुकाममा बढी पानी प्रयोग हुने कार्यालयहरु समेत हजारौ रकम महशुल बुझाउन बाध्य भएका छन्।

खानेपानी नियमावली २०५५, अनुसार नेपाल सरकारले तोकेको व्यक्ति अध्यक्ष रहनेगरी आपूर्तिकर्ता लगायतको पाँच जनाको समितिले सेवा शुल्क निर्धारण गर्ने व्यवस्था छ। तर खलंगा उपभोक्ता समितिले भने आफ्ना उपभोक्ताहरुसँग सामान्य छलफल नै नगरी चर्काे शुल्क निर्धारण गरेको आरोप लागेको छ।

समितिले सेवा शुल्कको दर निर्धारण गर्दा परियोजनाको लागत, संरचनाको संञ्चालन तरिका, सेवाको किसिम, मर्मत सम्भारमा लाग्ने खर्च, उपभोक्ताको संख्या, वार्षिक ह्रासकट्टी दर, उपयुक्त लाभ, मूल्य सूचीको परिवर्तन लगायतका विषयलाई ध्यान दिने गर्दछ। 

नागरिक समाजको ध्यानाकर्षण
खानेपानी आयोजना अन्र्तगत वितरण भइरहेको खानेपानी योजना अवैज्ञानिक र अव्यावहारिक भएको भन्दै नागरीक समाज डडेल्धुराले शनिबार प्रेस विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएको छ।

नागरीक समाज डडेल्धुराका संयोजक रमेश प्रशाद जोशीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘करिब १५ सय घरधुरी परिवार तथा उपभोक्तालाई हाल जारी भएको खानेपानी महशुल अव्यवहारिक र अवैज्ञानिक देखिएकोले फोहररहित शुद्ध खानेपानी उपलब्धसहित न्यायोचित महशुल निर्धारण गरियोस भन्ने नागरिक समाज डडेल्धुरा आग्रह गर्दछ।’

साथै नागरिक समाजले आयोजना निर्माणका क्रममा क्षती भएका सडकहरु निर्माण कम्पनीबाट यथाशिघ्र मर्मतसंभार गर्न समेत आग्रह गरेको छ। 

समितिका अध्यक्ष भन्छन्, उपभोक्तसँग छलफल गरेरै शुल्क निर्धारण भएको हो
उता खलंगा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र केसीले उपभोक्ताहरुको आमभेला बोलाएर नै शुल्क निर्धारण गरेको बताएका छन्। ‘छलफलमा न्यूनतम शुल्क ३ सय तोकिएको थियो। हामीले त्यो घटाएर २५० बनाएका छौं’ उनले भने, ‘उहाँहरुले नबुझेर गुनासो गर्नुभएको हो। हामी परीक्षणमा छौ, अन्धाधुन्ध पानी प्रयोग नगरी नआत्तिन अनुरोध गर्दछु।’

अध्यक्ष केसीले धारा खोल्दा सुरुमा हावा आउने गरेको कुरा भने स्विकार गरेका छन्। पानीमा अक्सिजनको केहि मात्रा हुने भएर हावा आउने गरेको उनले बताए। तर त्यसले खासै मिटर नघुमाउने समेत उनले बताए। साथै उनले असोजमा हुने साधारण सभाबाट शुल्कमा परिमार्जन गर्ने समेत प्रतिबद्धता गरेका छन्।  ‘सामान्य उपभोक्तालाई ५०० भन्दा बढी नपर्ने गरेर शुल्क घटाउनेछौ, उहाँहरुले आत्तिनु भएन’ उनले भने।

 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस