सामुदायिक संक्रमण देखिएको धनगढीमा कन्ट्रयाक्ट ट्रेसिङ र परीक्षणले गति लिएन
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आईतबार सम्म दुई सय ९५ जनामा संक्रमण पुष्टि भएको छ। उप–महानगरपालिकाले नगरका १९ वटै वडामा दुई हजार पाँच सय बढिको कोरोना परीक्षण गर्दा दुई ९५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
उनीहरु मध्ये एक सय ९९ जना कोरोना जितेर घर फर्किएका छन् भने सेती प्रादेशिक अस्पतालको आईसोलेसन, उर्मामा स्थापना गरिएको आईसोलेसन र होम आईसोलेसनमा गरी ९९ जना संक्रमित उपचाररत र स्वास्थ्यकर्मीको निगरानीमा रहेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए।
धनगढीमा अहिले सम्म भेटिएका संक्रमित मध्ये झण्डै ४२ प्रतिशत कुनै ट्राभल हिस्ट्री नै नभएको व्यक्ति रहेका छन्। १९ वटै वडामा एक सय २४ जना स्थानीय संक्रमित रहेका छन्। उनीहरुको सम्पर्कमा आएका झण्डै तीन सय जनाको मात्र कोरोना परीक्षण गरिएको छ भने अहिले उप–महानगरपालिकाले टोल टोलमा पुगेर नमूना संकलन गर्न थालेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए।
उप–महानगरपालिकाले संक्रमित भेटिने टोलमै पुगेर नमूना संकलनको काम थालिएपनि धनगढीमा अहिले सम्म कोरोना पुष्टि भएकाहरुको स्रोत खोज्ने काम प्रभावकारी नभएको पाईएको छ। स्थानीय संक्रमितको झण्डै आधा सबैभन्दा धेरै ६० जना संक्रमित भेटिएको वडा नम्बर ५ मा एक जना एम्बुलेन्स चालकबाट उनको परिवार र छिमेकीमा संक्रमण फैलिएको बाहेक अन्य स्थानमा अहिले सम्म स्रोत पत्ता नलागेको देखिएको छ।
तर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले भने स्रोत खोज्ने काम भईरहेको जानकारी दिए। संक्रमित भेटिने क्षेत्रलाई सिल गरेर नमूना संकलन गर्दै परीक्षणको काम थालेको उपमहानगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिङ गरी परीक्षण गरेको संख्या न्यून देखिनुमा अहिले पनि पहुँचका भरमा परीक्षण भईरहेको संकेत गर्छ।
तर उप–महानगरपालिकाले उक्त दावीलाई अस्वीकार गर्दै आएको छ। धनगढीमा सामुदायिक संक्रमण फैलिरहेकाले सम्बद्ध निकायले ट्रेसिङ र परीक्षणलाई बढाउनुपर्ने तथा आम नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्दै संक्रमणको जोखिमबाट आफू पनि बच्ने र अरुलाई पनि बचाउने काममा सहयोगी भूमिका खेल्नुपर्ने सुझाव दिईएको छ।