सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट युएईमा थप पाँच नेपालीको मृत्यु

२०७७ भदौ २१, ०५:४३ रासस

पछिल्लो साता संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको मृत्यु भएको छ। 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म विभिन्न १६ देशमा २०० नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ। स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।  

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार हालसम्म ४० देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। कोरोनाका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्विडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको ज्यान गएको छ।

विदेशमा मात्र ३४ हजार ९३९ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ। ३२ हजार ९८९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको सङ्घको कोभिड–१९ उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माले जानकारी दिए। 

कोरोना भाइरसका कारण विदेशमा अलपत्र ५६ हजार नेपालीको उद्धार भएको छ। सङ्घ र विदेशस्थित नेपाली नियोगको संयुक्त पहलमा ५८ देशबाट ३ ५९ उडानमार्फत ५६ हजार ७७७ जना नेपालीको उद्धार गरिएको हो। 

सोही अवधिमा विदेशमा विभिन्न कारणले निधन भएका २९९ नेपालीको शव नेपाल ल्याइएको सङ्घले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस