डडेल्धुरामा अवैध रुपमा मदिरा ओसार्ने दुई जनालाई कारवाही, मदिरा बरामद
धनगढी : डडेल्धुरा प्रहरीले निषेधाज्ञाका उल्लंघन गरी ओसारपसार भइरहेको अवैध मदिरा बरामद गरेको छ। निषेधाज्ञाका बेला मदिरा बिक्री वितरणमा रोक लगाइएको भएपनि उक्त आदेशको उल्लंघन गर्ने सवारी चालकसहित दुई जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको प्रहरीले जनाएको छ।
बगरकोट प्रहरी चौकीले आइतबार बिहान ढाई बजे जिल्ला सदरमुकामबाट भागेश्वर गाउँपालिका गइरहेको म१ज १८४ नम्बरको जीपबाट सय पेटी ओरेन्ज नामक अवैध मदिरा बरामद गरेको थियो।
अन्दाजी ८९ हजार बराबरको मदिरा बोकेको जीपसहित पक्राउ परेका भागेश्वर गाउँपालिकाका चालक २१ वर्षीय शुनील भट्ट र ओसारपसारमा संलग्न सोही ठाउँका २३ वर्षीय गोबिन्द देउवालाई कारवाही गरिएको प्रहरीले जनाएको छ। दुवैलाई संक्रमक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासनले जनही २ हजार एक सय जरिवाना गरेको प्रहरीले बताएको छ।