सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपहाडका राजमार्गमा पोलेको मकै बेचेर गुजारा गर्नेहरु

२०७७ भदौ २१, ०१:४१ शेर भण्डारी

डडेल्धुरा: अहिले मकैको सिजन। यो सिजनमा गाँउघरमा मकै सहजै पाइन्छ। तर, शहरमा भने यो पाउन सहज छैन्। मानिसहरूले रुचाउने खानेकुरा मध्ये पोलेको मकै पनि पर्दछ। मानिसहरूको तेहि रहर पुरा गर्दै छन्। डडेल्धुराको राजमार्ग नजिकका बस्तिका महिलाहरूले।

कोरोना भाइरसका कारण अहिले स्थानीय प्रशासनले डडेल्धुरामा आशिंक रूपमा निषेधाज्ञा गरेको छ। निषेधाज्ञा गरेकै कारण थुप्रै मानिसहरूको रोजीरोटी गुमेको छ। अहिले साँझ विहानको छाक टार्नको लागि यहाँका महिलाहरूले संघर्षको पापड बेल्नसम्म बेलेका छन्।

भीमदत्त राजमार्गको सडक छेउमै स–साना टिनका छाँप्रा। छेउमै हरियो मकैको थुप्रो। दनदनि रूपमा बिहानदेखि साँझसम्म निरन्तर रूपमा बलेको आगो। तेहि बलेको आगोमा सुरू हुन्छ। अमरगढी नगरपालिका–१० की बलुदेवी साउँदको एका विहानैदेखि साँझसम्मको निरन्तरको दैनीकी।

विभिन्न क्षेत्रमा काम गर्दा खाएको ठक्करको अनुभव उनको मनमा ताजै छ। दिनभरी काम गरेर घरखर्च चलाइरहेकी उनलाई आजभोलि भने घर खर्च धान्न निकै समस्या भएको छ। घरखर्च धान्न र परिवारमा रहेका लालाबाला पाल्न उनी एकाविहानै ४ बजे भीमदत्त राजमार्गको सडक छेउमा पालेको मकै बेच्न पुग्ने गरेकी छन्।

दैनीक मजदुरी गरेर घर खर्च चलाइरहेकी साउँदलाई आजभोलि मकैको व्यापार आम्दानी अपार सिद्ध भएको छ। आफै परिश्रम गरेर पसिनाको कमाइ खानुको मज्जा उनलाई मात्रै थाहा छ। सुदूरपहाडको ‘हिल स्टेशन’का रूपमा चिनिने डडेल्धुराको भीमदत्त राजमार्गमा ओहोरदोहोर गर्ने गाडीका यात्रुहरूलाई हरियो पोलेको मकै बेच्छिन्। अरूको बारीबाट १० देखि १५ रूपैयाँमा किनेर ल्याएको मकै उनले २० देखि २५ रूपैयाँमा बेच्दै आएकी छन्। 

‘बाहिरबाट मकैं खरीद गरेर बेच्दा नाफा कम हुन्छ। तर, आफ्नै बारीको मकै ल्याउँदा शतप्रतिशत नै नाफा हुन्छ’ साउँदले भनिन्, ‘कोरोनाले सताएको समयमा मकैं बेचेर गरेको आम्दानीले घरपरिवार चलाउन सहज भएको छ। तर, घरमा भएको मकै बाँदरले खाइदिँदा समस्या हुन्छ।’

साउँद जस्तै सो सडक क्षेत्रमा थुप्रै महिलाहरूले मकैको व्यापार सुरू गरेका छन्। अहिले उनी जस्तै थुप्रै महिलाहरूको ‘मकै एक जिन्दगी’ बनेको छ। पहिले साउँदले मात्रै मकै बेच्ने गरेको भएपनि अहिले मकै बेच्ने महिलाहरूको तछाड–मछाड नै देखिन्छ।

३÷४ वर्षअघिदेखि यो पेसा गर्दै आएको भएपनि विगतका वर्ष जस्तो व्यापार यो वर्ष कोरोनाका कारण हुन नसकेको अमरगढी–१ मालमकी डम्बरी दियालले बताइन्। सडक छेउमै मकै बेच्ने गरेको देखेर यात्रुहरू आफै गाडी रोकेर मकै किन्न आउने गरेको उनको भनाइ छ।

‘घरमा रोजगारी गर्ने कोही छैनन्। साँझ विहान खाना खान पनि समस्या हुने गरेको छ’ दियालले भनिन्, ‘दिनभरी मकै बेचेर आएको पैसाले घरमा खानेकुरा लगेर गुजारा चलाउने गरेका छौँ। रहर नहुँदा नहुँदै पनि बाध्यताले यो काम गरिरहेका हौँ।’

उनले प्रहरी आएर मास्क, स्यानेटाइजर प्रयोग गरेर मात्रै काम गर्नु भनेर जाने गरेको बताइन्। ‘बाहिर यती ठूलो रोग फैलिरहेको छ। हामीहरूलाई पनि डर त हुन्छ। तर, भोको पेटले काम नगरि मान्दैन्। तेहि भएर काम गरिरहेका छौँ’ उनेले भनिन्।

घरमा खेती लाएपछि जंगली जनावरले खाइदिने गरेको अर्की स्थानीय तुलसि दियालले बताइन्। अरू समयमा दैनीक ज्याला मजदुरी गरेर खर्च चलाउने गरेको भएपनि लकडाउनका कारण काम नपाएर मकै बेचिरहेको उनको भनाइ छ। 

‘साँझ ५ बजे आएकी थिए। अब राति ८ बजे घर जान्छु। घर परिवार सन्तुष्ट त छैनन्। तर, पेट पाल्नको लागि मकै पोलिरहेकी छु। स्थानीय सरकारले कतै काम गर्ने वातावरण मिलाइदिए खुसि हुन्थे’ उनले भनिन्।

शेर भण्डारी
कमेन्ट लोड गर्नुस