कोरोना महामारीपछि सुदूरपश्चिमका अस्पतालमा सेवा विस्तार तर जनशक्ति अभाव
धनगढीः ४ वर्ष पहिले सघन उपचार कक्ष आईसियूका उपकरण खरिद गरी थन्काएको कञ्चनपुरको महाकाली अस्पतालले कोरोना भाईरसको महामारीपछि सेवा सञ्चालनमा ल्याएको छ।
अस्पतालले दुई वटा भेन्टिलेटर सहित ६ शैयाको आईसियु सञ्चालनमा ल्याएको छ भने वषौँदेखि एम्बुलेन्स र शव बाहान सेवा नभएको अस्पतालले कोरोना महामारीपछि मात्र विस्तार गरिएको जनाएको छ।
अस्पताल अन्य सेवा समेत विस्तार गर्ने क्रममा रहेको छ। महाकाली अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हरीकुमार श्रेष्ठले अस्पतालमा कोरोना महामारीपछि सघन उपचार कक्ष आईसियू सेवा, एम्बुलेन्स लगायतका सेवा थप गरिएको बताउँदै अन्य सेवा पनि विस्तार हुने क्रममा रहेको जानकारी दिए।
उनले अस्पताललाई संघिय सरकारले ४ वटा भेन्टिलेटर सहित थप १० शैयाको आईसियु सेवा विस्तारका लागि बजेट पठाएकाले आवश्यक प्रक्रिया थालिएको बताए। १० शैयाको आईसियु सेवा विस्तार भए गम्भीर प्रकृतिका विरामीको उपचारमा सहज हुने अपेक्षा गरिएको छ।
तर अस्पतालमा भेन्टिलेटर, आईसियु लगायतका थप सेवा विस्तार भएपनि जनशक्ति व्यवस्थापन गर्न सकिएको छैन्। कोरोनाका गम्भीर विरामीलाई छुट्टै आईसियु कक्ष स्थापना गरी उपचार गर्नुपर्नेमा जनशक्ति नभएकै कारण समस्या हुने देखिएको छ। निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर श्रेष्ठले जनशक्ति व्यवस्थापनका लागि पहल भईरहेको बताए।
उनले सेवा विस्तारसँगै सञ्चालनका लागि जनशक्ति आवश्यक हुने भएकाले सम्बन्धीत निकायसँग आग्रह गरिदै आएको बताए। अस्पताल आफैले जनशक्ति व्यवस्थापन गर्न आर्थिक स्रोतको अभाव भएकाले समस्या भएको मेसु श्रेष्ठ बताउँछन्।
सुदूरपश्चिमकै रेफरल सेती प्रादेशिक अस्पतालमा समेत कोरोना महामारीपछि थप भेन्टिलेटर र आईसियु सेवा विस्तार भएका छन्। सेतीमा अहिले ७ वटा भेन्टिलेटर सहित १० शैयाको आईसियू सेवा सञ्चालनमा रहेको छ। अस्पतालले कोरोना संक्रमितका लागि छुट्टै आईसियू वार्ड स्थापना गरेको छ।
सेती मात्र नभएर संघिय सरकारले महाकाली सहित डडेल्धुरा अस्पताल र टीकापुर अस्पतालमा समेत भेन्टिलेटर सहित ३५ शैयाको आईसियु सेवा विस्तार गर्न बजेटको सुनिश्चितता पठाईसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।
तर सबै अस्पतालहरुमा जनशक्ति अभावका कारण विस्तारित सेवा सञ्चालनमा समस्या हुने देखिएको छ। प्रदेश सरकारले भने अस्पतालहरुमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्न संघिय सरकारसँग समन्वय भईरहेको कार्कीले जानकारी दिए।
तत्काल प्रदेशभर महाकाली र सेती प्रादेशिक अस्पतालमा गरी गम्भीर प्रकृतिका संक्रमितको उपचार गर्न १६ वटा आईसियु शैया रहेका छन्। सिमित जनशक्तिको उपलब्धताका कारण ती आईसियुका शैया सञ्चालनमा समेत समस्या हुने देखिएकाले शिघ्र आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ।