स्वास्थ्यकर्मीमा कोरोना भेटिएपछि दार्चुलाका दुई स्थानीय तहमा निषेधाज्ञा
दार्चुला: दार्चुलामा स्वाथ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि दुई स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका र मार्मा गाउँपालिकामा आशिंक निषेधाज्ञा जारी गरिएको हो।
शुक्रबार डडेल्धुरा अस्पतालमा भएको कोरोना परीक्षणमा मार्मा गाउँपालिकाको लटीनाथ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो।
अस्पतालमा विरामीसँग सम्पर्कमा रहेका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि समुदायमा फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार बेलुकीदेखि अर्काे आदेश नभएसम्मका लागि निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।
प्रशासनले जारी गरेको सूचना अनुसार शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वर बजार, वडा नम्बर २ र ३ को सुन्दरपुर बजार देखि लुइटासम्म निषेधाज्ञा जारी गरेको जनाएको छ।
यस्तै मार्मा गाउँपालिकाको वडा नम्बर २ र ३ को लटिनाथ बजार, विटुले, भैसीबगर, चिउरानी, सिमार, सेलविसा, वडा नम्बर १ को पारिबगर, वडा नम्बर ४ को वडा कार्यालय र स्वस्थ्य चौकी र रेला बजार क्षेत्र सिल गरिएको प्रशासनले जनाएको छ।
ती दुवै पालिकामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा र कार्यहरु सञ्चालनमा प्रशासनले रोक लगाएको छ।