कैलालीको भजनीमा धारा निर्माणमा जुटे युवा
बाढीका कारण खानेपानीका धारा डुबानमा परेपछि कैलालीको भजनीमा युवा धारा निर्माणमा जुटेका छन्। साउन १४ गते आएको बाढीले भजनीमा पानीका मुहानलगायत डुबानमा पर्दा पिउने पानीको समस्या टार्न युवा आफैँले रकम ङ्ंकलन गरी धारा निर्माण थालेका हुन्।
भजनी–३ बर्दवाफाँटाका युवा रकम सङ्कलन गरी धारा निमार्णमा जुटेको स्थानीय पदमराज जैसीले बताए। ‘‘भजनी नगरपालिका वर्षेनी बाढी र डुबानको चपेटामा पर्दै आएको छ’’, जैसीले भने, ‘‘सधैँ अरुले बनाइ देलान भनी कति पर्खनु, बाढीका बेला पिउने पानीको अभाव हुने भएकाले आफैँले रकम उठाएर बनाउन थालेका हौँ।’’
वडा नम्बर ३ का २२ युवाले ४४ हजार सङ्कलन गरी धारा निर्माण गरिरहेका छन्। धारा बनाउन खर्च बढी लाग्ने भएकाले युवा स्वस्फूर्त व्यक्तिगत रुपमा रकम उठाएर धारा बनाउन थालेका स्थानीय रुपेश बुढाले बताए।
‘‘पानी पिउने धारा बनाउनका लागि कसलाई गुहार्नु, बाढी आएदेखि यहाँका नागरिकले राम्ररी पानी पिएका छैनन’’, बुढाले भने, ‘‘उच्च धारा भए यहाँका नागरिकलाई बाढीको समयमा राहत हुन्छ। पानी त शुद्ध पिउन पाउनुप¥यो भनी धारा निर्माणमा जुटेका हौँ।’’
युवाले वडा नम्बरं ३ मा तीन वटा धारा बनाउने योजना बनाएका छन्। डल्फिन क्षेत्रको नयाँ बस्तीमा एउटा र अर्को सबैलाई पायक पर्ने गरी हुलाकी सडक किनारमा बनाउने गरी काम थालेका छन्। ५५ फिटको धारा बनाउने भएकाले लागत अपुग हुने उनीहरु बताउँछन्। ‘‘अग्लो र पक्की बनाउनुपर्ने भएकाले एउटै धारा निर्माणमा करिब रु ५० हजार खर्च हुन्छ’’, बुढा भन्छन्, ‘‘केही रकम आफैँ उठाइरहेका छौँ, केही सहयोगीसँग मागेर बनाउने योजना छ।’’
धाराको उपयोगिता र संरक्षणको लागि युवासँगै समुदाय धेरै जिम्मेवार हुने भएकाले धारा संरक्षणको जिम्मा समुदायलाई दिइने उनीहरु बताउँछन्। ‘‘यहाँ विगतमा विभिन्न सङ्घसंस्थाले पनि उच्च धारा बनाएका छन्’’, स्थानीय धनकला साउदले भने, ‘‘धारा बनाएर प्रयोगविहीन अवस्थामा रहेकाले उच्च धाराको दीर्घकालीन सदुपयोग रहने गरी संरक्षण र रेखदेख महत्वपूर्ण छ। समुदायलाई रेखदेखको जिम्मा दिए संरक्षण हुन्छ।’’
कैलालीको भजनीमा गत साउन १४ गते आएको बाढीले हजारौँ परिवार प्रभावित भएका छन्। बाढीका कारण एक हजार ६७१ परिवार विस्थापित भएका थिए। विस्थापितमध्ये केही घर फर्किसकेका छन्। अझै करिब ३०० परिवार घर फर्कने वातावरण नभएपछि सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन्।
भजनीका बाढी पीडितलाई छाक टार्नै मुश्किल भएको छ। ‘‘घर फर्केर बस्ने अवस्था छैन, जङ्गलमा पानी र शौचालयको समस्या छ’’, बाढी पीडित रुपा विकले भने, ‘‘तीन बालबालिकासहित जङ्गलमा पालमुनी बसेकी छु। श्रीमान् भारतमा रोजगारी गुमाएर बसेका छन्। यहाँ पेट भर्न अन्नसमेत छैन।’’