धनगढीमा दारी ग्याङको घरदैलो रक्तदान कार्यक्रम जारी
धनगढी–दारी ग्याङ धनगढीले सोमबारदेखि सुरु गरेको घरदैलो रक्तदान कार्यक्रम जारी राखेको छ। निषेधाज्ञाका बेला रगत अभाव हुने समस्या आएपछि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको ग्याङले रक्तसञ्चार केन्द्रको सहकार्यमा घरदैलो कार्यक्रमको सुरुवात गरेको थियो।
अभियान आज चौथो दिन पनि जारी रहेको दारी ग्याङ धनगढी संयोजक दिनेश बोहराले बताए। उनका अनुसार आज कुटुम्ब होस्टेलमा आयोजना गरेको रक्तदान कार्याक्रममा २० पिन्ट रगत संकलन भएको छ। कार्यक्रम अन्तरत दारी ग्याङले पहिलो दिन ११ पिन्ट, दोस्रो दिन १५ जना, तेस्रो दिन २५ र आज २० पिन्ट रगत संकलन भएको बोहराले बताए।
यसैगरी धनगढीका विभिन्न स्थानमा एक सातासम्म रगत संकलन गर्ने कार्यक्रम रहेको उनले बताए। कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षाका विधि अपनाएर रगत संकलन गरिरहेको उनले बताए।