डडेल्धुरामा तरकारीको भाउ छोइनसक्नु !
डडेल्धुरा: कोरोना महामारीका कारण स्थानीय प्रशासनले लगाएको आशिंक निषेधाज्ञाको फाइदा उठाउँदै यहाँका व्यवसायीहरूले तरकारी र फलफूलको मुल्य एकाएक बढाएका छन्।
डडेल्धुरामा सुनको भाउ जस्तै तरकारीको मुल्य आकाशिदै गएको छ। प्रतिदिन मुल्य बढ्दा तरकारी छोइनसक्नु छ। जसको मारमा उपभोक्ताहरू परेका छन्। तर, व्यवसायीहरू भने तरकारी र फलफूलको मुल्य बढ्नुको कारण उत्पादनमा परेको प्रभावका साथै बर्खे तरकारीको उत्पादन सकिनु र भारतबाट तरकारीको आयात कम हुनु रहेको बताउँछन्।
सर्वसाधरणको भान्सामा दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउलीलगायत तरकारीको मुल्य लकडाउन अवधीको तुलनामा दोब्बर भएको छ। अहिले डडेल्धुरामा हरेक किसिमका तरकारीको मुल्य प्रतिकिलो सय रुपैया भन्दा बढी छ। जुन अघिल्लो वर्षको तुलनामा सतप्रतिसत बढी हो।
अहिले डडेल्धुरामा पसलै पिच्छे तरकारीको मुल्य फरक–फरक छ। टमाटर प्रतिकिलो एक सय २०, तिते करेला प्रतिकिलो एक सय ३०, लौका र फर्सी प्रतिकिलो ८०, घिरौला प्रतिकिलो एक सय ४०, आलु र प्याज प्रतिकिलो ७० रुपैँया मुल्यपुगेको छ। स्थानीय बजारमा दिन प्रतिदिन तरकारीको मुल्य फरक फरक हुने गरेको छ।
लकडाउनका कारण बिक्री हुन नसक्दा गत चैत बैशाखमा कृषकहरूले लगाएको तरकारी खेतबारीमै कुहिएको कारण सोही समस्या दोहोरिने डरले कृषकले तरकारी नलगाउँदा बाहिरबाट ल्याउनु परेकोले तरकारीको मुल्य आकासिएको स्थानीय व्यवसायी हिमाल पन्तले बताए। विगतका वर्षहरुमा तरकारीको मुल्य प्रतिकिलो २०र२५ रुपैयाँहुने गरेकोमा यो वर्ष दोब्बर तेव्वर भएको उनको भनाइ छ।
‘जिल्लामा उत्पादन छैन् । बाहिरबाटै चर्को मुल्यमा खरिद गरेर ल्याउनु पर्छ। अन्य पहाडी जिल्लाबाट आएको तरकारी पनि तराईका जिल्लाबाट व्यापारीहरू आएर बढी पैसा दिएर लैजान्छन्,’ उनले भने, ‘अहिले बर्खामा लगाएको तरकारीको उत्पादन सकिने बेला हो। लकडाउन सुरू भएपछि भारतबाट आयातहुने तरकारी पनि घटेको छ।’
किसानबाट तरकारी खरिद गर्दा सस्तोमा खरिद गर्ने र खरिद गरेको भन्दा दोब्बर तेव्बर मुल्यमा विक्रिगर्ने गरेकाले तरकारीको मुल्य एकाएक बढेको अगुवा कृषक प्रकाश अवस्थीले बताए। तरकारीको मुल्य बढ्नुमा बिचौलियाको भूमिका रहेको उनले दाबी गरे। सम्बन्धित निकायले यसतर्फ ध्यानदिन जरुरी रहेको उनको भनाइ छ।
तरकारी उत्पादनका लागि डडेल्धुरा जिल्ला सुदूरपश्चिम प्रदेशमै अग्रणी मानिन्छ। मौषमको कारणले तरकारी उत्पादनमा कमि आउँदा मुल्य बढेको कृषि ज्ञान केन्द्र डडेल्धुराका बरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्ट बताउँछन्।
‘भारतबाट तरकारी आउदा भरतीय र स्थानीय तरकारीको प्रतिष्पर्धा हुन्थ्यो’ उनले भने, ‘आजभोली भारतबाट तरकारी नआउदाँ बजारमा स्थानीय तरकारी मात्र छ। बजारको माग अनुसारको उत्पादन जिल्लामा नभएकोले मुल्य बढेको बिष्टले बताए।