डोटीमा अपांगता भएको भन्दै हाजिर गर्न नदिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
डोटी: डोटीमा शारीरिक रूपमा अशक्त(अपांगता) भएको भन्दै हाजिर गर्न नदिएको घटनाप्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिमले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नालाई शारीरिक रूपमा अशक्त भएको भन्दै हाजिर गर्न नदिएको घटनाले संविधानमा उल्लेख भएको समावेशिकरणको उपहास भएको महासंघले ठकर गरेको छ।
‘अपाङ्गता भएका व्यक्तिको कार्य क्षमताको मूल्याकंन नै नगरी अपाङ्गता भएका व्यक्तिले काम गर्न सक्दैनन् भनी बहाना गरेर कर्मचारीलाई हाजिर हुन नदिने र कामकाज नदिने हो भने नेपाल सरकारको नेपालको संविधानमा उल्लेख गरिएको समावेशिताको लक्ष्य कसरी पुरा होला, निजामती सेवा ऐन तथा नियमावलीको ठाडो उपहास हुन जाने ठहर राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल सुदूरपश्चिम कार्यालयको ठहर छ’ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र बहादुर खडायतद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ।
महासंघले अपाङ्गता भएका व्यक्तिहरुलाई सरुवा तथा पदस्थापन गर्दा निजहरुको शारीरिक तथा अवस्थालाई समेत ध्यान दिई उपयुक्त स्थानमा कामकाज गर्ने वातावरण प्रदान गरिदिन हुन आग्रह गरेको छ।
अध्यक्ष ओझाले हाजिर गर्न नदिने भनेपछि ठगुन्ना साढे दुई सातासम्म जोरायल गाउँपालिका जान सकेका छैनन्।