सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा नेपालकै लामो पदमार्ग बन्दै, जसमा हुनेछन् ८,२८२ खुडकिला

२०७७ भदौ १३, ०६:२१ नरेन्द्र कार्की

दार्चुला: समुद्री सतहबाट २५०० मिटर उचाईमा रहेको दार्चुलाको अपी हिमाल गाउँपालिकामा नेपालकै लामो पदमार्ग निर्माणको कार्य जारी छ। सिद्ध मकरीकोट मदमार्ग नाम दिइएको पदमार्गको निर्माण कार्य भइरहेको हो।

संघीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको समपूरक अनुदानमा अपिहिमाल गाउँपालिकाका वडा नम्बर ५ मकरीगाडदेखि वडा नम्बर ४ कोट हुँदै खात्तीसम्म पदमार्ग निर्माणको कार्य भइरहेको छ।

पदयात्रा गर्न रुचाउने पर्यटकलाई लक्षित गर्दै सिद्ध मकरीकोट पदमार्ग निर्माण विगत दुई वर्षदेखि जारी छ। कुल ८ हजार २८२ खुडकिलासहितको पदमार्ग निर्माणको काम ठेक्कामार्फत गरिँदै छ। हालसम्म १ हजार ५ सय मिटर पदमार्ग निर्माण कार्य सम्पन्न भएको छ। भने, ३ सय मिटर पदमार्गको निर्माण कार्य जारी रहेको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए। 

मकरीगाडबाट मकरीकोट चढ्ने सजिलो पदमार्गको रुपमा सिद्धमकरीकोट पदमार्ग निर्माण गरिएको हो। ‘यो पदमार्ग ऐतिहासिक जतरसिह राजाको इतिहासँग जोडिएको छ। यो नेपालकै ऐतिहासिक पदमार्ग हो’ अध्यक्ष मन्यालले भने, ‘यो पदमार्ग निर्माण गर्न कुल ४ करोड ६२ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। हालसम्म पदमार्ग निर्माणमा १ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ।

पदमार्ग निर्माण अघि मकरीगाडदेखि मकरीकोट चढ्न निकै कष्टकर बाटो थियो। अहिले खुट्कीला र र्यालिङससहितको पदमार्ग निर्माण पछि पर्यटकलाई मात्र हैन, स्थानीयलाई समेत आवत जावतमा सहज भएको अपिहिमाल गाउँपालिका ४ का स्थानीय लक्ष्मणसिह बोहराले बताए।

पूरानो बाटो निकै जोखिम थियो। पहिरो र ढुंगा खस्ने डर हुन्थ्यो, अहिले निर्माण गरिएको पदमार्गले यात्रुहरुलाई सुरक्षित अनुभूति गराएको छ। हिड्नलाई सजिलो हुने समय पनि कम लाग्ने भएकोले यो पदमार्ग आकर्षक बनेको छ। अहिले निर्माण गरिएको पदमार्गमा गएर जोकोहि पनि रमाउने गरेका छन्। अपिहिमाल गाउँपालिकासम्म जाने जोकोहि पनि सिद्ध मकरीकोट पदमार्गमा फोटो खिचाएरै मात्रै आउने गर्छन्। सबैले गर्व गर्ने विषयको रुपमा सिद्ध मकरीकोट पदमार्ग बनेको छ।

ऐतिहासिक रुपमा राजाले राज्य गरेको मकरिकोट क्षेत्रको संरक्षण गरेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनाउन गाउँपालिकाले सिद्ध मकरीकोट पदमार्ग बनाएको हो। विगतमा कोटमा जतरसिहको दरबार थियो। अहिले सो दरबार भगनावेशषको रुपमा रहेको छ। 

यस पदमार्गको खुट्कीलासँगै उकालो चढ्न सजिलो होस् भन्नको लागि र्यालीङ राखिएको छ। स्थानीय ढुंगाको प्रयोग गरेर कलात्मक रुपमा सिडि सजाइएको छ। यो सिडीको ठाउँ ठाउँमा पानीको धारा निर्माण तथा पार्क निर्माण गरिने लक्ष रहेको अध्यक्ष मन्यालको भनाई छ।

पदमार्ग निर्माण पछि अपिहिमाल गाउँपालिकाको खात्तीबाट सुदूरपश्चिम प्रदेशकै अग्लो अपी हिमाल(७१३२) मिटर नाम्पा हिमाल (६५५७ मिटरको हिमाल सजिलै देख्न सकिन्छ। खात्तीमा प्राकृतिक रुपमा निर्माण भएका तालतलैयाहरु छन्। यस्तै नेपालकै उच्च क्षेत्र समुद्री सतहबाट २५ सय मिटर उचाईमा खेलमैदान छ। जहाँ हरेक वर्ष खेलहरु हुने गरेका छन्। चारैतिर डाडाकाडा, प्राकृतिक रुपमा स्टडियम झै निर्माण भएको खेलमैदान उत्कृष्ट छ। 

मकरीगाडदेखि मकरिकोट हुँदै खात्तीसम्म खुट्कीला निर्माण गर्नसके आन्तरिक तथा बाह्य पर्यटक सजिलै खात्तीमा राख्न सकिने गन्तव्य हुनसक्छ। खात्तीबाट मकरिगाडको झरना मकरीकोट जलविद्युत अवलोकन गर्न सकिन्छ। मकरीगाडमा अहिले १० मेगावटको मकरीगाड हाइड्रोपावर निर्माणाधीन छ।
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस