सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको आलितालमा स्थानीयकै मिलेमतोमा वन फडानी, वन कर्मचारीको संलग्नता !

२०७७ भदौ १३, ०१:५५ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका –८ मा निर्मित डोला चक्रपथ सडक निर्माणका क्रममा अवैध रुपमा सालका रुखहरु काटिएको विषयमा सुदूरपश्चिम वन निर्देशनालयको टालीले स्थलगत निरीक्षण गरेको छ। 

अनुगमनका क्रममा स्थानीयकै मिलेमतोमा वन फडानी गरेको पाइएको प्रदेश वन निर्देशक हेमराज विष्टले बताए। उनले रजनी सामुदायिक वन र राष्ट्रिय वनक्षेत्रमा रहेका साल, जामुन र अस्मा गरेर ५८ वटा रूखहरू हानी नोक्सानी भएको बताए।

‘डोला चक्रपथ सडक निर्माणका क्रममा अवैध रुपमा ती रूखहरू काटिएका छन्। बरामद गरेका केहि काठहरू आलिताल सव डिभिजनमा राखिएको छ’ उनले भने, ‘रूख काट्ने समुह र त्यहाँका स्थानीयले घटनालाई गुपचुप राख्दा हामीहरूले जानकारी पाएनौँ। क–कस्को मिलेमतो छ भन्ने कुरा अनुसन्धानले देखाउँछ।’

एक महिना अगाडी काटीएका रूखहरूबारे ढिलो थाहा पाउनु वनका कर्मचारीहरूको लापरवाही भएको उनले बताए।  ‘जानकारी पाउँदा पाउँदै वनका कर्मचारीहरूले वास्ता नगरेको भए उनीहरूको पनि संलग्नता छ भन्ने कुरा देखाउँछ’ उनले भने। स्थलगत निरीक्षण गर्दा सामुदायिक वन र राष्ट्रिय वनको कर्मचारीहरूको मिलेमतोसँगै आयोजना  र निर्माण कम्पनीको मिलोमतो प्रष्ट देखिएको उनको निश्कर्ष छ। 

आलिताल गाउँपालिकाको समपुरक कोषबाट निर्मित सो सडकको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) मा सडकको एलाईन्मेन्टमा छ सालका रुखहरू पर्ने उल्लेख छ। आलिताल गाँउपालिकाले डोला चक्रपथ सडक निर्माणका लागि बोलपत्र आह्वान गरेपछि इब्रिडिङमार्फत उग्रतारा कन्ट्रक्सन प्रालिको ठेक्का सदर भएको थियो। 

८८ लाख ५८ हजार ७८ रुपैयाँमा डोला चक्रपथ सडक निर्माणका लागि गत जेठ ३२ गते निर्माण कम्पनीका तर्फबाट आधिकारिक प्रतिनिधी मानसिँह घर्ती मगरले गाँउपालिकासँग सम्झौता गरेका थिए। 

यो पनि:

सडकका नाममा वन फडानी
डडेल्धुराबाट रुख काटेर धनगढीतिर तस्करी भयोः संसदीय समिति

डडेल्धुरामा सडक निर्माणको बहानामा अवैध रुपमा वन फडानी

कमेन्ट लोड गर्नुस