सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रसव पिडा र छोराको जन्मदिन

२०७७ भदौ १२, १०:५५ नन्दा महरा

महेन्द्रनगर : २०७२ साल मंसिर २७ गते विवाह भयो। विहे भएकै साल मेरो ससुराको निधन भएकाले त्यो साल श्रीमान बारिखमा बस्नुभएकोले सन्तान पाउने योजना बनाएन। त्यसपछि आफ्नो र घरपरिवार सबैको ईच्छा बच्चा पाउने। ससुराको बार्षिक पुण्यतिथि पछि २०७३ मंसिर ४ गते महिनावारी भए।

त्यसपछि नियमित अर्को महिना महिनावारी रोकियो।  रेडियोमा काम गर्न जाने बेला मेरो नजिकको साथी आशा र म महेन्द्रनगरको गल्ली नम्बर ३ मा रहेको एउटा ल्याबमा गर्भ जाँच गर्न गयौँ। रिपार्ट पोजेटिभ आयो। कता कता अर्कै खुसि मिल्यो। मुटु ढुकढुक भो त्यो किन भो थाहा भएन। ब्यागबाट मोबाईल निकाले सबैभन्दा पहिले श्रीमानलाई फोन गरे तपाई बुवा बन्ने हुनुभयो है, प्रिगनेन्सी रिपोर्ट पोजेटिभ छ भन्दा उहाँले खुसी हुँदै हामी दुवैलाई बधाई छ भन्नुभयो।

अनि फोन राखे। साथीलाई उसको कोठामा छोडेर आफु रेडियो तिर लागे। यो खुसी आफ्ना कार्यालयका मिल्ने साथी र म्यासेन्जरबाट नजिकका साथीलाई सुनाए। आफ्नो घर परिवारलाई नि सुनाए सबै खुसी भए। दिनदिनै शारिरीक वनावट परिवर्तन हँुदै गयो। यो अवस्थामा घरपरिवार साथी भाईले अर्कै किसिमको माया र केयर गर्दा क्या खुसी लाग्ने।

खासमा मलाई बच्चा पेटमा हुँदा सामान्य भन्दा अली बढि नै खाना नपच्ने, बान्ता भएको भए हुने ,केही पनि खाना नरुच्ने भयो। यस्तो बेला मलाई अर्कै लाग्न थाल्यो, अफिसमा संगै काम गर्ने साथीहरुले सामान्य समयमा मन पराउने खाने कुरा ल्याईदिदा मलाई निकै खुसी लाग्थ्यो। मनमा छुट्टै खालको आनन्द मिल्थ्यो। आफूलाई भने यस्तो बेला सबै भन्दा बढी याद र माया आमा ‘मम्मी’ को लाग्थ्यो। बच्चा पेटमा हुर्काउन कति असहज रहेछ भनेर आमालाई नै सम्झिन्थे।

गर्भ बसेको पाँच महिना हुँदा पेटमा बच्चा चल्न थाल्यो। त्यती बेला छुट्टै महसुस हुन्थ्यो भने माया पनि धेरै लाग्थ्यो। नियमित चेकजाँच गरिरहे। डाक्टरले अन्तिम पटक महिनावारी भएको मितिदेखि  ९ महिना ७ दिनको समय जोड्दै भदाँै ११ गतेको डेट दिए। सेकेण्ड, मिनेट, घण्टा, दिन, हप्ता र महिना गर्दै मेरो डेलीभरी हुने मिति पुग्यो। डाक्टरले दिएकै मिति अथात् भदौँ ११ गते रातीको १० बजेको थियो, कम्मर र पेट महिनावारी हुने समयको जस्तै दुखे जस्तो लाग्यो।

हाम्रो तिर व्यथा लाग्दा श्रीमानलाई भन्यो भने झन् च्याप्छ भन्ने भनाई छ। तर म यस्ता कुरामा विश्वास गर्दिन्। र श्रीमानलाई असहज भएको कुरा बताए। उनले घरका अरुलाई भनौँ भने तर मैले नै नाई भने। सुनेको अरुबाट अलिअलि व्यथा सहनुपर्छ। चाडै अस्पताल जाँदा पनि राम्रो हुन्न रे। हुँदा हुँदा उज्यालो भएको थाहा भयो।

रातभरी व्यथा च्याप्दै कम हुँदै बिहान भएको थियो। व्यथाले च्याप्दा तत्काल अस्पताल गईहालौँ जस्तो लाग्थ्यो त कम हुँदा निदाई राखौँ। यो पिडा र दुखाई कस्तो हुन्छ भन्ने कुरा आमा बन्नुभएको सबै महिलालाई थाहा हुन्छ।  त्यही भएर हो मेरो सासुआमा, नन्द, जेठानी सबै सहानुभुती दिईरहे। व्यथा च्याप्दै गएपछि एम्बुलेन्समा करिब बेलुकीको ५ बजेतिर नजिकैको महाकाली अञ्चल अस्पतालमा सासु र श्रीमानसँगै गयौँ। यस्तो बेला पिडा र अप्ठ्यारो सबै आमा बन्नुभएका दिदी बहिनी सबैलाई थाहा छ होला।

त्यसपछि आवश्यक प्रक्रिया पछि अस्पताल भर्ना भए। सुत्केरी गराउने कोठाको बाहिरी बार्डमा पल्टिए, त्यहाँ  अरु म जस्तै अन्य ३ जना महिलाहरु पनि रुदै कराउदै गरिरहेको सुन्दा आफुलाई कस्तो लागिरहने। आफ्नो पिडा सहन मैले मेरो साथी र सासु आमाको हात बेस्सरी समातेर दाँतले ओठ टोकेर आफ्नो आवाज बन्द गर्न खोजे। झन् झन् गाह्रो हुँदै आयो।

एक्कासी पानीको पोका फुट्यो। सँगै बच्चाको टाउको आइरहेको रहेछ। नर्सलाई गाह्रो भो भन्दा उनले जुरुक्क उठेर भित्र जान भनिन्। मलाई डेलिभरी रुममा पल्टिए। शरिर पसिनै पसिना, नर्सहरुले बल लाउनुस् भन्ने, घरी बच्चाको टाउको आईसक्यो उसलाई असहज हुन्छ भन्ने।

त्यती बेला नर्सहरु मेरा लागी भगवान थिए। एकछिनमा बच्चा रोएको आवाज सुनियो। बच्चा जन्मियो। भित्तामा टाँगिएको घडी हेर्दा बेलुकीको ६ बजेर २६ मिनेट भएको थियो। आफ्नो व्यथालाई बिर्सिदै बच्चालाई एकहोरो हेरिरहे। म र म जस्ता सबै आमाहरु ज्यानको बाजी लगाएर प्रसव पिडा एकैछिन बच्चा देख्ने बित्तिकै बिर्सेर जान्छन्।

हो आज त्यही दिन हो, भदौँ १२ गते। छोरा मैले तिमीलाई यो धर्तीमा जन्म दिएको दिन। ३ वर्ष पुरा भएर आजैदेखि तिमी चौथो वर्षमा पाईला टेक्दैछौँ।  मेरो र तिम्रो लागि खास दिन। बस तिमी एक असल र इमानदार मान्छे बन्नु। यसरी तिमीलाई यो धर्तीमा जन्म दिने जस्ता हरेक महिलाको सम्मान गर्नु जन्मदिनको शुभकामना मेरो छोरा। लभ यु। 

नन्दा महरा
कमेन्ट लोड गर्नुस