सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा यसरी फैलिदैछ समुदायमा कोरोना

२०७७ भदौ ११, ०९:३० नवराज पनेरु

धनगढी : भदौ पहिलो साता धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३५ बर्षीया महिलाले सेती प्रादेशिक अस्पतालमा स्वाब दिईन्। रुघाखोकी र ज्वरो आएपछि उनले कोरोना परीक्षणका लागि स्वाब दिएकी थिईन्। भदौ ६ गते उनको रिपोर्ट पोजेटिभ आयो। धनगढीकै एक विद्यालयमा अध्यापन गराउँदै आएकी उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई त्यस्को जानकारी दिईन्। 

उनीसंगै विद्यालयमा अध्यापन गराउने धनगढी उप–महानगरपालिका वडा नम्वर १, ३ र ४ का थप तीन जना शिक्षिकाले पनि कोरोना परीक्षणका लागि स्वाब दिईन्। वडा नम्वर ३ र ४ का शिक्षिकाले परिवारका अन्य सदस्यको पनि स्वाब दिएकी थिईन्। वडा नम्वर ३ मा शिक्षिकासहित परिवारका पाँच जना सदस्यमा कोरोना देखियो। उनका श्रीमान व्यापारी पनि हुन्। 

वडा नम्वर ४ मा शिक्षिका सहित परिवारका चार जनामा संक्रमण पुष्टि भयो। ‘साउन ३० गते शुक्रवार गृहकार्यको कपी अभिभावकलाई बुझाउन उनी विद्यालय गएकी थिईन्। धनगढी बाहिर गएको ट्राभल हिस्ट्री त छैन्।’ संक्रमित महिलाका श्रीमानले भने। 

सोही विद्यालयमा अध्यापन गराउँदै आएकी वडा नम्वर १ की शिक्षिकामा पनि कोरोना देखियो। उनले आफुलाई पुष्टि भएपछि १३ र सात बर्षीय छोराछोरीसहित श्रीमानको पनि कोरोना परीक्षण गराईन्। बुधवारमात्रै छोराछोरीमा कोरोना पुष्टि भएको छ भने श्रीमानमा कोरोना देखिएको छैन्। पछिल्लो पाँच दिनमा भएको परीक्षणमा धनगढीका चार शिक्षिका र उनीहरुका परिवारका थप नौँ जनामा संक्रमण देखिएको छ। तर १३ जनाकै बाह्य ट्राभल हिस्ट्री भने छैन्। 

भदौमै धनगढी उपमहानगरपालिका–४ बसपार्क टोलका २६ वर्षीय युवा व्यवसायीमा पनि संक्रमण देखियो। धनगढीमै व्यवसाय गरिरहेका उनलाई कताबाट संक्रमण स¥यो भन्ने थाहा छैन। ‘हाम्रो खाता धनगढीको ग्लोबल आईएमई बैंकमा थियो, दिनमा दुई, तीन पटक बैंकमा गइराख्नु पथ्र्यो, त्यहाँका एकजना कर्मचारीमा कोरोना देखिएको छ, त्यहीबाट स¥यो कि भन्ने आशंका छ।’ उनले भने। 

उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले हाल सम्म धनगढीका दुई सय १८ जनामा संक्रमण पुष्टि भएको बताउँदै ४५ जनाको ट्राभल हिस्ट्री नभेटिएको बताए। अहिले सम्म ट्राभल हिस्ट्री नभएका १२ जना स्वास्थ्यकर्मी, पाँच जना सुरक्षाकर्मी, चार जना शिक्षक र चार जना व्यापारीमा संक्रमण पुष्टि भएको छ। 

यस्तै दुई जना चालक, दुई जना निर्माण कम्पनीमा कार्यरत कर्मचारी, एक जना एमआर र दुई जना बैंकका कर्मचारीमा पनि ट्राभल हिस्ट्री बिना नै कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै चार जना व्यापारीका परिवारका सदस्य र संक्रमित शिक्षिकाका परिवारका सदस्यलाई पनि कोरोना देखिएको छ। बाँकी भने सर्वसाधारण हुन्। धनगढी उप–महानगरपालिकका जनस्वास्थ्य निरिक्षक उपाध्यायले झण्डै २१ प्रतिशत स्थानीय संक्रमित रहेको बताउँदै समुदायमा संक्रमण बढ्दै गएको जानकारी दिए। 

‘सीमा नाका दैनिक रुपमा खुला रहे समुदाय संक्रमण रोक्न मुस्किल हुन्छ,’ उपाध्यायले भने, ‘हप्ताको एक दिन नाका खोलेर त्यो अवधिमा आएकाहरुको परीक्षण गर्नुपर्छ। सीमा नाकामै होल्डिङ सेन्टरको व्यवस्था पनि हुनुपर्छ।’ वरिष्ठ फिजिसियन डा. शुभेषराज कायस्थले समुदायमा संक्रमण भयावह हुन नदिनका लागि परीक्षण बढाउँदै कन्ट्रयाक्ट ट्रेसिङमा ध्यान दिनुपर्ने बताए।

‘समुदायमा कोरोना फैलिए दैनिक संक्रमण दर ह्वात्तै बढ्छ,’ उनले दिनेश खवरलाई भने, ‘संक्रमण भयावह हुन नदिनका लागि परीक्षण बढाउँदै पुष्टि भएकालाई आईसोलेसनमा राख्ने र संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई रातारात खोज्नुपर्छ।’ उनले भारतबाट फर्किएका नागरिकलाई अनिवार्य क्वारेन्टिन र संक्रमितलाई आईसोलेसनमा राख्नुपर्ने पनि बर्ताए। 

नेपालमा पहिलो पटक स्थानीय संक्रमण धनगढीमै फेला परेको थियो। दुबईबाट फर्किएका धनगढी–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा चैत १४ गते कोरोना संक्रमण पुष्टि भएकोमा चैत मसान्तमा नेपालमा पहिलो पटक स्थानीय संक्रमण उनकी भाउजुमा देखिएको थियो।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस