सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनितिमा युवा र चुनौती

२०७७ भदौ ९, ०१:१७ हेमन्त रेग्मी

देशमा ठुला–ठुला परिवर्तन भए प्रजातन्त्र, बहुदल, गणतन्त्र। देशको एउटा पुस्ताले ती  ठुला परिवर्तन देख्यो, त्यो पुस्ताले राणा शासनदेखि शाहि शासनको अन्त्य सम्म देख्यो।

सायद अबको कुनै पनि पुस्ता यती धेरै परिवर्तन देख्ने भाग्यमानी नहोला। हरेक परिवर्तन क्रान्तिबाट सम्भव छ र हरेक क्रान्तिमा युवाको भुमिका विशेष रहन्छ। त्यसैले नेपालका यी हरेक परिवर्तनमा युवाहरुको भुमिका उत्कृष्ट रह्ययो। 

चाहे त्यो २००७ सालको क्रान्ति होस चाहे त्यो २०४७ सालको क्रान्ति होस, चाहे त्यो २०६२र÷६३ को क्रान्ति होस हरेक आन्दोलनमा युवाहरु अघिल्लो मोर्चामा उभिए र सफल पनि भए। 

केहि युवाहरु निरन्तर देश विकास र परिवर्तनका खिलाफ लडिरहे भने कसैको भुमिका एउटा दुईवटा अन्दोलनमै सकियो। निरन्तर राष्ट्र परिवर्तनका खिलाफ लड्ने युवा वर्ग मध्ये केही युवाहरु जानी नजानी राजनितिमा समावेश हुन पुगे। 

हरेक आन्दोलनले कोही न कोही युवा नेता जन्मायो तर आन्दोलनको समाप्ती र लक्ष्य प्राप्तीपछि उसको औचित्य के त ? भन्न्ने प्रश्न मात्र उठेनन् कोही त गुमनाम नै भए भने केही स्थापित पनि भए। अहिले पनि देशमा विभिन्न्न पार्टी र तिनका संगठनमा युवाहरुको उल्लेखनीय उपस्थिती देखिन्छ। 

अहिले नेपाली राजनितिमा ठुला पार्टी भनिने नेकपा र नेपाली काँग्रेसमा लाखौँ युवाहरुको सहभागिता र उल्लेखनिय भुमिका पनि देखिन्छ। जो राजनितिमा आफ्नो भविष्य खोज्दै छन्। जसको आँखामा देश र जनताप्रती अथाहा माया देखिन्छ, जो साच्चिकै देशका लागि केही गर्न चाहान्छ्न।

जीवनको उर्जाशिल युवा अवस्था राजनितिमा स्थापित हुन खर्च गरेका तिनै युवा क्षमतावान, जुझारु र इमानदार पनि छ्न। तर जब कुरा अवसरको आउँछ। ऊँ सानै छ ,उसको त उमेर बाँकी छ, पछि गर्दा पनि हुन्छ र अझ अवसर पाउने बेला फलानो नेताको छोरा फलानोको भतिजा फलानो नेताको पार्टीमा योगदान थियो। 

त्यसको कदर गर्न भएपनि उसको छोरोलाई टिकट दिनुपर्छ। अग्रज नेताहरुप्रती सम्मान हुनुपर्छ तर सम्मान कदरको नाममा अर्को व्यक्तिको राजनीति नै सक्काउने र क्षमतानै नभएकालाई अवसर दिदा ति युवाको पालो कहिले आउने? त्यहाँ सम्म त ठिकै थियो। राजनीति यस्तो भइदियो गलफ्रेन्ड र बोइफ्रेन्डका भरमा समेत अवसर प्राप्त हुन थाले।

युवाहरुलाई मात्र शक्ति र सत्ता प्राप्त गर्न प्रयोग गर्ने परिपाटी जुन दिन अन्त हुन्छ र युवा नेतृत्व स्थापित हुन्छ साच्चिकै तिनै युवा फेरी समाज र राष्ट्र परिवर्तनका लागी अर्को क्रान्ति गर्छन्। हामीले सबै भन्दा पहिले नेताहरुप्रतीको हाम्रो नजर परिवर्तन गर्न जरुरी देख्छु।

राजनितिमा लागेका सबै युवालाई गलत देख्ने नजरिया त्यो दोषी चश्मा फेरेर हेरौँ। धेरै युवाहरु आज युवा, विद्यार्थी आन्दोलनमा सक्रिय देखिन्छन्। जो नि स्वार्थ सेवाको भावले केही गर्छु भनेर जिन्दगीको उर्जाशिल समय राजनितिमा व्यतित गरिरहेका छन्। तर यिनै युवाहरुले अवसर पाएका छैनन्।

पारिवारिक जिम्मेवारी एकातिर भविष्य अर्को तिर सबैथोक त्यागेर राजनीति मात्र भनेर हिडेका तिनै युवा पार्टी र संगठनमा सधै पछि पारिन्छन्। सबै भन्दा पहिले एउटा कुरा के बुझ्न जरुरी छ भने, सबै युवा निश्चित स्वार्थपुर्ती गर्न राजनितिलाई अंगालेका छैनन्। केही अपवाद होलान पनि तर लाखौँ युवा देशमा अवसर भएन भनेर विदेशिरहेका बेला अवसर बनाउँछु भनेर लाग्ने युवा के क्षमतावान नहोला? हामी सँग अहिले विभिन्न्न पार्टी संगठनमा स्नातक, स्नातकोत्तर मात्र हैन अझ इन्जिनियर देखि डाक्टर भएका युवाहरु समेत राजनितिमा छन्।

के उनीहरु पनि त्यसरी नै अवसर खोज्दै विदेशिन नसकेर जागिर नपाएर, व्यवसाय गर्न नसकेर राजनितिमा लागेका होलान त? अवश्य होईन्। ती युवाको आँखामा देश बनाउने सपना छ समाज र राष्ट्र परिवर्तनका खिलाफ लडछु भन्न्ने साहस छ। धेरै बाधा ब्यवधान झेल्दै आफुलाई स्थापित गर्न लागिपरेको छ।

त्यति मात्र हैन् आफ्नो जवान छोराले जागिर गरोस अझ अहिलेको नेपाली समाजलाई हेर्ने हो भने विदेश जावस आर्थिक रुपले सम्पन्न्न होस् भनेर को बुवाआमाले कसको परिवारले चाहदैन् तर त्यो युवा पारिवारिक द्धन्द्ध मोलेरै भएपनि देश र समाजको लागि केही गर्न चाहान्छ तर अपसोच धेरै त्यस्ता युवामाथी छानी छानी राजनितिक प्रहार हुन्छ र उनीहरुको राजनीति सकाइन्छ।

यो परिपाटीको अन्त्य नभए सम्म नेपाली राजनितीमा असल युवा नेता उत्पादन गर्न गाह्रो हुने देखिन्छ। कहिले गुटका नाममा त कहिले नातागोताका नाममा अवसर प्राप्त भएका राजनितिमा विना दुःख र संर्घष टपक्क टिपेर ल्याइएका नेता ज्यूहरुको भविष्य कति छ ?  त्यो आउँदो पुस्ताले पनि हेरिरहेको छ। पृथ्वी गोलो छ, पक्कै पनि भेट होला। त्यतीखेर कि जुध्लान आँखा कि झुक्लान। 

 

हेमन्त रेग्मी
लेखक रेग्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववीयुका नेता हुन्।  
कमेन्ट लोड गर्नुस