सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर घटनाको पाँच वर्ष पूरा

२०७७ भदौ ७, ११:२६ खबर संवाददाता

धनगढीः २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारको आज पाँच वर्ष पूरा भएको छ। भदौ ७ गते भएको थारु आन्दोलनको दौरानमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहित ७ प्रहरी र एक जना बालकको ज्यान गएको थियो।

थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटना मुद्दाको कैलाली जिल्ला अदालतले झण्डै साढे तीन बर्षपछि फैसला गरेको थियो। कैलाली निर्वाचन क्षेत्र नम्वर १ बाट विजयी रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला भएको थियो। 

चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरिया, बृज मोहन डगौरा, राजेश चौधरी, विरवहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलमा १३९३० नम्वर बमोजिम जनही जन्म कैद सजाय सुनाईएको थियो।

तर श्रवण चौधरी नावालक भएकाले आधा अर्थात १० बर्ष सजाय तोकिएको थियो। यस्तै लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरीया, सन्तराम चौधरी, जित वहादुर डगौरा, प्रेम वहादुर चौधरी, किशनलाल चौधरी, दिलवहदादुर चौधरी, सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रशाद चौधरी लगायत १२ जनालाई ३ बर्ष कैद तोकिएकोमा उनीहरु कैद भुक्तान गरेर छुटिसकेका छन्। 

यस्तै नुरुल अलि जागा भनिने तहाँवर अलि जागा, बिसराम चौधरी र रामनरेश चौधरीलाई सफाई दिईएको थियो। यसै गरी करन चौधरीलाई बालबालिका ऐन २०४८ को दफा ११ ९२० बमोजिम ६ महिना कैद हुने आदेश भएकोमा उनको पनि कैद भुक्तान भईसकेकाले थुना मुक्त भईसकेका छन्।

यस्तै फरार रहेका ३१ ज्नाको मुद्धा मुलतवीमा राखिएको छ। घटना घटाएको अभियोगमा ५८ जना विरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर भएको थियो। अदालतको उक्त फैसलापछि टिकापुरमा ज्यान गुमाएका परिवारका सदस्यले न्यायको अनुभुती भएको प्रतिक्रीया दिएका थिए भने थारु समुदायमा निराशा थियो। 

घटना भएको पाँच वर्ष पुगेका अवसरमा थरुहट थारुवान राष्ट्रिय मोर्चाले निर्धारण गरेका विरोधका कार्यक्रम स्थगित गरेका कारण आज  टीकापुर शान्त रहेको प्रहरीले जनाएको छ।

 मोर्चाले कोरोना भाईरसको महामारी र निषेधाज्ञालाई मध्यनजर गर्दै विरोधका कार्यक्रम स्थगित गरिएपनि अन्य संघर्षका कार्यक्रम जारी रहेकोे जनाएको छ।

बुधबार मोर्चाले विज्ञप्ती जारी गर्दै नेपाल सरकारसँग १३ बुँदे माग राखेर घोषणा भएको कार्यक्रमहरु कोरोना महामाहरीको कारण मुलुकमा भइरहेको बन्दाबन्दी र सङक्रमणबाट हुनसक्ने भयाभह स्थितिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नगरुन्जेलसम्मका लागि भदौ ७ र ८ गते गर्ने भनिएको कार्यक्रम स्थगित गरिएको उल्लेख गरेको छ।

यसअघि मोर्चाले आज देशव्यापी रुपमा विरोधका कार्यक्रम गर्ने तय गरेको थियो भने टीकापुरमा भएको थारुहरुको घर, पसल, व्यवसायिक केन्द्र तथा संचार गृहमा भएको आगजनी, तोडफोड, लुटपात एवं गृह प्रशासनको दमनको विरुद्ध ८ भदौमा कालो दिनको रुपमा मनाउने तयारी गरेको थियो।  
 

कमेन्ट लोड गर्नुस