सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटकीय ‘छाँगे झरना’ प्रचारप्रसार अभावले ओझेलमा

फाइल फोटो
फाइल फोटो
२०७७ भदौ ४, ०५:४७ रासस

पर्यटकीय क्षेत्र धुलिखेलमा रहेको ‘छाँगे झरना’ प्रचारप्रसारको अभावले ओझेलमा परेको छ। काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नम्बर १ र २ को सङ्गमस्थलमा रहेको ‘छाँगे झरना’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो।

छपन्न फिट अग्लो झरना हेर्न तथा झरनाको पानीमा खेल्न र नुहाउन जानेहरुको सङ्ख्या पछिल्लो समयमा वृद्धि भए पनि प्रचारप्रसार कम भएका कारण पर्यटकको रोजाइमा पर्न नसकेको स्थानीय बासिन्दा बताउँछन्।

बनेपा र धुलिखेल बजारबाट नजिकै पर्ने देवीटार र रविओपीको सङ्गमस्थल छाँगेटोल नजिकै रहेको ‘छाँगे झरना’ प्रचारमा आउन थालेसँगै पछिल्लो समय घुम्न जानेहरुको सङ्ख्यामा वृद्धि हुन थालेको हो।

धुलिखेल–१ छाँगेटोलका अम्बिका बजगाईंले छाँगा पहिलादेखि नै भए पनि बन्दाबन्दीपछि चर्चामा आउन थालेको बताए। “पछिल्लो समयमा बन्दाबन्दीका कारण मान्छेहरु कहाँ जाने, कता जाने भइरहेको अवस्थामा बनेपाबाट नजिक रहेको झरनामा रमाउन र नुहाउनका लागि धेरै मान्छेहरु आउन थालेका छन”, उनले भने, “पहिलापहिला कम मात्रामा मान्छेहरु आउने गरेका थिए, पछिल्लो समयमा सबैले थाहा पाउन थालेसँगै छाँगे झरनामा रमाइलो गर्न आउनेहरुको सङ्ख्या बढ्न थालेको छ।”

सो ठाउँमा छाँगा भएकाले टोलको नाम नै देवीटारको छाँगेटोल भन्दै आएका छन्। विस्तारै प्रचार हुन थालेपछि गाडीसहित लिएर मान्छेहरु आउन थालेको उनको भनाइ छन्। सोही टोलका अर्का युवा जयराम बजगाईंले छाँगे झरनालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न वडा र नगरपालिकालाई आग्रह गरिरहेको बताए।

“हामीले शुरुमा त्यहाँको पूर्वाधारका लागि मोटरबाटो लानुपर्छ भनेर भनिरहेका छौँ, वडाले पनि सकारात्मकरूपमा लिएको छ”, उनले भने, “अहिले बाटो नहुँदा त पाखा पाखा हिँडेर मान्छेहरु आउन थालेका छन् भने बाटो र अन्य सुविधा भएपछि आन्तरिक पर्यटकको आगमन बढ्ने भएकाले त्यसका लागि सबै लागिपरेका छौँ।”

झरनाको प्रचारप्रसारमा कमी भएका कारण ओझेलमा परेको हुनाले युवाहरुको अगुवाइमा बनेपाबाट छाँगे झरना आउनेहरुका लागि सजिलो होस् भनेर ठाउँ÷ठाउँमा साइन बोर्ड राखेर सहज बनाइएको उनले बताए।

वडा नम्बर १ का वडाध्यक्ष रमेशप्रसाद घोरसाइनेले छाँगे झरनालाई पर्यटकीयस्थलका रूपमा विकास गर्नका लागि वडा र नगरपालिकाबाट प्रयत्नहरु भइरहेको बताए। झरना हेर्न जानेहरुको सङ्ख्या बढ्दै गए पनि अझै प्रचार प्रसारको कमीका कारण ठाउँठाउँमा झरना जाने बाटोमा साइन बोर्ड राख्ने र त्यसको बारेमा जानकारी दिने काम भइरहेको वडाध्यक्ष घोरसाइने बताउँछन्। त्यसका लागि नगरपालिकाले नै गुरुयोजना बनाइसकेको उनले बताए।

“झरना वडा नम्बर १ र २ को सङ्गमस्थलमा पर्ने भएकाले झरनासम्म जानका लागि वडा नबर १ बाट मोटरबाटो निर्माण गर्ने र वडा नम्बर २ बाट पैदलमार्ग बनाउने विषयमा प्रक्रिया अगाडि बढाउने काम छिट्टै हुनेछ”, उनले भने, “त्यससँगै त्यहाँ घुम्न जाने पर्यटकका लागि झरना हेर्न मिल्नेगरी दुई गाउँबीच जोड्ने झोलुङ्गे पुल बनाउने, वरिपरि घुम्ने, विश्राम गर्ने स्थल र खानपानका लागि होमस्टे (घरबास)को व्यवस्थापन गर्नका लागि स्थानीय बासिन्दालाई समेत आग्रह गरेका छौँ।”

पर्यटकीय गन्तव्य बनाउन वडासँगै स्थानीय बासिन्दाको पनि साथ र सहयोग आवश्यक भएकाले त्यसतर्फ समेत छलफल र पहल भइरहेको उनले बताए। शहरको भिडभाड र कोलाहलबाट मुक्त हुन शहर नजिकै शान्त ठाउँमा रहेको झरनामा रम्न सकिने भएकाले सो ठाउँको विकास गर्न सकेमा छाँगे झरना पर्यटकीय गन्तव्यस्थल बन्ने प्रबल सम्भावना रहेको छ।
 

कमेन्ट लोड गर्नुस