सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्राकृतिक नाला र कुलोमाथि सडक बनाइएपछि डुब्छ धनगढी

२०७७ साउन २७, ०३:३२ खबर संवाददाता

धनगढी: आइतबार रातिबाट भएको वर्षाले धनगढी क्षणभरमै जलमग्न भयो। घरपसलमा पानी पसेर ठूलो क्षती भयो भने मुख्य र अन्य सडकमा पानी भरिएपछि आवतजावत गर्न पनि मुस्किल भयो। 

पानी निकासको व्यवस्था नभएकै कारण धनगढी वर्षेनी डुवानमा पर्दै आएको छ। डुबानको समस्या समाधान गर्नुभन्दा स्थानीय सरकार भने पानी निकास हुँदै आएका प्राकृतिक नाला र कुलो मिचेर सडक बनाउँदै आएको छ। यसले धनगढीमा डुबानको समस्या झनै विकराल बनेको छ। 

धनगढीका पूर्णबहादुर विश्वकर्माले नालाहरु अतिक्रमण गरिएकाले सडकमा पानी आएको बताए। उनले भने, ‘ठुला तथा साना नालाहरु अतिक्रमण गरिएका छन्। भौतिक संरचना निर्माण भएका छन्। कतै सडक समेत निर्माण गरिएका छन्। पानी बग्ने ठाउँँ नभएपछि सडकमा जम्मा हुँदै आएको छ।’

धनगढी उप–महानगरपालिका क्षेत्रमा प्राकृतिक नाला तथा कुलोहरुमा प्रत्येक वर्ष सडक निर्माण हुन थालेपछि डुबानको समस्या झनै बढेको हो। उप–महानगरको बजार क्षेत्रका वडाहरुमा प्रत्येक वर्ष प्राकृतिक नालाहरु मिचिँदै गएकोमा स्थानीय तह लगायतका विकासे अड्डाहरुले पनि सडक निर्माणका नाममा अतिक्रमण गर्न थालेपछि डुबानको समस्या झनै बढेको छ। 

तर उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले नागरिकहरुले नै प्राकृतिक नालाहरुमा सडक निर्माण गरेको बताएका छन्। उनले भने, ‘नागरिकहरुले प्राकृतिक नालाहरुमा सडक निर्माण गर्दै आएका छन्। धनगढीको शिवनगर क्षेत्र, वडा नम्बर १ कै दक्षिण क्षेत्रमा त्यस्ता सडकहरु छन्। जहाँ पहिले पानी बग्दै आएका थिए। अहिले सडक छन्। वडा नम्बर ४ र ५ मा समेत त्यस्ता सडकहरु भएको भन्ने छ।’ 

डुबानको समस्या समाधानका लागि पानी निकासलाई व्यवस्थीत बनाउनुपर्ने समयमा उप–महानगरपालिका प्राकृतिक नाला र कुलोमा पनि सडक बनाउन थालेको छ। नालाको स्थानमा सडक निर्माण गर्दै भौतिक संरचना निर्माण गर्नका लागि उप–महानगरपालिकाले नै नक्सा पास समेत गर्दै आएको छ। 

धनगढी उप–महानगरपालिकाको वडा नम्बर १ शिवनगरमा उत्तर–दक्षिण निर्माण गरिएका दुई सडक, रातोपुल तथा निर्माण व्यवसायीको प्रदेशद्धारको सडक, धनगढी पार्कमोड हुँदै दक्षिण जोड्ने सडक, वडा नम्बर ४ चटकपुरमा उत्तर–दक्षिण सडक प्राकृति नाला तथा कुलो माथि निर्माण गरिएका हुन्। वर्षातको पानी बग्ने प्राकृतिक नाला तथा कुलोहरुमा पानीको निकासलाई व्यवस्थीत बनाउनको सट्टा मिचेर सडक बनाइएपछि अहिले पानी बस्तीमा छिर्न थालेको छ। 

प्राकृतिक नाला र कुलो सडक बनेपछि अहिले सामान्य वर्षामा पनि ती सडकमा खोलो बगेजस्तै हुने गरेको छ। विगतमा प्राकृतिक कुलो र नाला मार्फत बस्ती वरपरको पानी खोलासम्म निकास हुन्थ्यो। यसले धनगढीमा ठूलै वर्षा हुँदापनि डुबानको समस्या थिएन्। तर अहिले नाला र कुलोमा सडक बनाईएको छ भने खोलानालामा करोडौँका भौतिक संरचना बनेका छन्। 

यसले पानीको निकास पूर्णरुपमा रोकिएपछि सामान्य झरीमै धनगढी डु्ब्न थालेको छ। उप–महानगरपालिकाले प्राकृतिक नालामा सडक निर्माण गरेको विषयमा जानकारी नभएको तर सडक निर्माण गर्दा पानी बग्ने ठुला नालीहरु निर्माण गर्दा डुबानको समस्या कम हुने सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाईका इन्जिनियर तथा सूचना अधिकारी श्यामचन्द्र बुढाथोकीले बताए। उनले भने, ‘अहिले हामीले सडकको पानी मात्र बग्ने खालका नालीहरु निर्माण गर्दैछौ।’

कमेन्ट लोड गर्नुस