सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको खानीडाँडामा एडभेन्चर पार्क सञ्चालन, साहसिक पर्यटकका लागि जिपलाईन

२०७७ साउन २५, १२:१४ नवराज पनेरु

धनगढी : धनगढीमा ४०, ४२ डिग्री तापक्रम हुँदा झन्डै ३५ किलोमिटर उत्तरमा रहेको पहाडी क्षेत्र खानीडाँडामा २५, २६ डिग्री मात्रै हुन्छ। त्यसैले पनि तराईमा उखरमाउलो गर्मी हुँदा खानीडाँडा जानेको घुइँचो लाग्ने गर्छ।

केही वर्षपहिले सम्म तराईबाट पहाडी सात जिल्ला जाने यात्रुले नास्ता खाने ठाउँका रूपमा चिनिएको खानीडाँडा अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ। खानीडाँडा नजिकै निगलाडी एडभेन्चर पार्क सञ्चालन भएपछि साहसिक पर्यटकका लागि समेत खानीडाँडा गन्तव्य बन्ने अपेक्षा गरिएको छ। 

कैलालीकै चार जना युवा पर्यटन व्यवसायीले चुरे गाउँपालिका वडा नम्वर ५ मा झण्डै २५ लाखको लगानीमा निगलाडी एडभेन्चर पार्क सञ्चालन गरेका हुन्। कैलालीकै पर्यटन व्यवसायी भिम बहादुर लामा, पुष्करराज भट्ट, श्यामराज भट्ट र सुमित लामिछानेको लगानीमा पार्क सञ्चालन गरिएको हो।

२०७६ सालदेखि नै निर्माण थालिएकोमा कोरोना भाईरसको प्रभावका कारण ढिलो गरी पार्क सञ्चालनमा आएको छ। 

‘२०७६ सालको भदौदेखि निर्माण थालेका थियौँ,’ निगलाडी एडभेन्चर पार्कका सञ्चालक सुमित लामिछानेले भने, ‘२०७७ को बैशाखदेखि सञ्चालन गर्ने योजना राखिएको थियो। तर ०७६ को चैतदेखि नै कोरोना भाईरसको जोखिम नियन्त्रणका लागि लकडाउन भएपछि साउनदेखि मात्रै पार्क सञ्चालनमा आएको हो।’

उनका अनुसार पार्कमा अहिले जिप लाईन, बर्मा व्रिज र ट्रम्प पुलिङ्गको मज्जा लिन सकिन्छ। ‘गोदावरीबाट खानीडाँडा पुग्न अगाडि निगलाडी पुल आउँछ। उक्त पुलको नजिकै निगलाडी एडभेन्चर पार्क सञ्चालन गरिएको छ।’ अर्का सञ्चालक भीमबहादुर लामाले भने। 

उनका अनुसार कोरोना भाईरसको जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउन खुलेसंगै जिप लाइन, बर्मा ब्रिज र ट्रम्प पुलिङको मज्जा लिन पर्कटक पुग्न थालेका छन्। 

‘पार्कमा छिट्टै प्याराग्लाईडिङ समेत सञ्चालन गर्ने योजना रहेको छ,’ उनले दिनेश खवरलाई भने, ‘ प्याराग्लाईडिङ सञ्चालन गर्नका लागि परीक्षण समेत सफल भईसकेको छ।’ खानीडाँडा क्षेत्रलाई साहसिक पर्यटकको गन्तव्य बनाउने लक्ष्यका साथ पार्क सञ्चालन गरिएको उनले बताए।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस