सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट मजदुरीका लागि भारत जादै नेपाली, भन्छन्–भोकले भन्दा रोगले मछौँ

२०७७ साउन २५, ०७:०६ जनक विष्ट

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाका रमेशबहादुर शाही शुक्रबार त्रिनगर सीमानाका हुँदै कामको खोजीमा भारत प्रस्थान गरेका छन्। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बृद्धि हुदै गएका बेला कामको खोजी गर्दै भारत प्रवेश गरिरहेका शाहीको मुहार निराशाले छोपिएको थियो।

भारतमै रोजगारी गर्दै आएका शाही कोरोना महामारीपछि मात्र स्वदेश फर्किएका थिए। झण्डै चार महिनाको लकडाउन खुलेपनि स्वदेशमा रोजगारीका अवसर नभएकाले जोखिम मोलेरै भएपनि परिवारको गुजरा चलाउन आर्थिक जोहो गर्ने जिम्मेवारी लिएर भारत गईरहेको उनले सुनाए।

कैलालीको चिसापानीकै दीपक सुनार पनि रोजगारीको अवसर खोज्दै भारत प्रवेश गरेका छन्। भारतमा दैनिक हजारौँ संक्रमित भेटिरहेका बेला सुनार घर परिवारको दैनिकी चलाउन आवश्यक पर्ने आर्थिक जोहो गर्नकै लागि भारत गएका हुन्। ‘घरको जेठो छोरा हुँ। बहिनी आमालाई पाल्ने जिम्मेवारी मेरो गाँधमा छ। घर खर्च जोहो गर्न महामारीमै भारत जान लागेको हुँ।’ उनले भने, ‘यहाँ बसेर भोकभोकै मरिएला जस्तो भयो बरु रोग लागेर मर्नु ठीक हुन्छ।’

कैलालीकै निरज कठायतको वेदना पनि उस्तै छ। महामारी नियन्त्रणमा नआएका बेला विदेश जान मन नहुँदा नहुँदै पनि स्वदेशमा कुनै अवसरमा नपाउँदा बाध्य भएर कामको खोजीमा साथीहरुसँगै उनी पनि शुक्रबार त्रिनगर नाका भएर भारत गएका छन्। नेपालमा बस्दा भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भईसकेकाले जोखिममै भारत जान लागेको कठायतले बताए।

कैलालीका शाही, सुनार र कठायत प्रतिनिधि पात्र भएपनि कोरोना महामारीपछि रोजगारी गुमाएर स्वदेश आएकाहरु कामको खोजीमा भारत जान थालेका छन्। सुदूरपश्चिमका सीमानाकाबाट अहिले दैनिक सयौँको संख्यामा रोजगारी खोज्दै उनीहरु भारत प्रवेश गर्न थालेका छन्। तर स्वदेशमै रोजगारी दिने आश्वासन बाडेका जनप्रतिनिधी र सांसदहरुले भने आफूहरुका पीडा नबुझेको उनीहरको गुनासो छ।

स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्न नसकेकै कारण गरिखाने वर्ग समस्यामा पर्दा समाधानको उपाय खोज्दै पुनः भारततर्फ जान थालेका हुन्। कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक एवंम् अर्थविद डाक्टर राजेन्द्रबीर चन्द स्वदेशमा रोजगारीका अवसर नहुँदा गरिखाने वर्ग भोकै बस्नुपर्ने अवस्था आएको बताउँछन्।

‘हामी कहाँ रोजगारी दिन उद्योगधन्दा छैनन्, कृषिमा आधुनिकीकरण हुन सकेको छैन्।’ चन्दले भने, ‘१२ महिना काम गरेर चार महिना सम्म खान नपुग्ने अवस्थाबाट हामी गुज्रिरहेका छौँ। यस्तो अवस्था भएकाले नेपालमा बसेर पनि बालबच्चा भोकभोकै हुने परस्थितीका कारण प्रदेशबासी फेरी भारत जान बाध्य भएका छन्।’

स्थानीय तह, प्रदेश सरकार, संघिय सरकार लगायतका निकायले रोजगारी गुमाएर स्वदेश फर्किएकाहरुको उचित व्यवस्थापन गर्न कुनै योजना ल्याउन नसकेको गुनासो गरिएको छ।  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस