सुदूर नेपाललाई विश्वसँग जोड्दै

चाडपर्व मनाउनेसम्बन्धी मापदण्ड पारितः छ लाखको कोरोना जाँच गरिने

२०७७ साउन २१, ०७:०६ रासस

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बढीभन्दा व्यक्तिको कोरोना जाँच गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मन्त्रालयद्वारा आज विभिन्न सञ्चारगृहका सम्पादकहरुसँग आयोजित अन्तरक्रियामा मन्त्री ढकालले घटीमा ६ लाखसम्मको पिसिआर जाँच गरिने जानकारी दिए। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दुई  प्रतिशत जनसङ्ख्याको जाँच गरिने बताएका छन्। 

मन्त्री ढकालले भने, “आवश्यकताअनुसार परीक्षण गर्दै लगिने छ। सीमाबाट हिँडेर आउनेलाई १४ दिन क्वारेन्टिनमा राखिने छ र पिसिआर टेष्ट गरिने छ। हवाइजहाजबाट आउनेलाई पाँच दिन राखिने छ।” उनले बन्दाबन्दीबाट मुक्त भएकाहरु असावधान हुँदा जोखिम बढेको बताउँदै अब पहिले जस्तो सोलोडोलो बन्दाबन्दी नहुने स्पष्ट गरे। “बन्दाबन्दीको मोडालिटीबारे सोचिने छ”, उनले भने।  

उनका अनुसार चाडपर्व मनाउने प्रोटोकलबारे मन्त्रिपरिषद्बाट पारित भइसकेको छ। तराईका जिल्लामा कडाइका साथ व्यवस्थापन गरिने छ।  आगामी भदौ १ गतेदेखि खुल्ने भनिएका हवाइजहाज, लामो दूरीका सवारी साधन र विद्यालयबारे पनि सोचिने बताउँदै उनले भारतको अवस्था हेरी हाम्रो अवस्था निर्धारण हुने सङ्केत गरे।

उनले मन्त्रालयमा भएको भनिएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराए। मन्त्री ढकालका अनुसार कोरोनाबाट मृत्यु हुने प्रतिशत नेपालमा शून्य दशमलव २७ मात्र छ जुन विश्वका अन्य मुलुकका दरभन्दा कम छ । विश्व स्वास्थ्य सङ्गठन र केही मुलुकले नेपालमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापन राम्रो बताएका छन्। 

साप्ताहिक खर्च विवरण दिइने
सो अवसरमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना नियन्त्रण एवं रोकथाममा भएका खर्चको साप्ताहिक विवरण दिइने जानकारी दिए। उनले जोखिम नियन्त्रणका लागि समन्वय, सञ्चार र समुदायको सहभागितामा जोड दिइने बताउँदै सवारी साधनमा जोरबिजोर लागु गर्ने, हिँडडुलमा नियन्त्रण गर्ने, मानिस प्रवेश गर्ने २० नाकालाई १० मा झार्ने र  विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टिनमा राख्नेबारे सोचाइ भइरहेको  जानकारी दिए। 

मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले भेन्टिलेटर मात्र नभई अक्सिजन  आपूर्ति प्रशस्त हुनुपर्ने बताउँदै कसैमा ५७ दिनपछि पिसिआर जाँच गर्दा पुनः कोरोना पोजेटिभ भएको जानकारी दिए। उनले समुदायस्तरमा महामारी नफैलिए पनि वीरगञ्जमा लोकल ट्रान्समिसन(क्लष्टर अफ केसेस) पाइएको भने स्वीकार गरे। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  मिडियालाई रचनात्मक सुझाव एवं पृष्ठपोषणका लागि आग्रह गरे।

कमेन्ट लोड गर्नुस