सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा रकम असुलेर भारतीयलाई प्रवेश दिएको विषयमा सशस्त्र र प्रहरीले छानविन गर्दै

२०७७ साउन २०, ०५:५३ खबर संवाददाता

धनगढीः कैलालीमा सुरक्षाकर्मीले नै रकम असुलेर सीमानाकाबाट भारतीय नागरिकलाई प्रवेश दिएको विषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्तरिक छानविन थालेको छ।

त्रिनगर सीमानाकाबाट भारतीय नागरिकबाट पाँच हजार लिएर धमाधम प्रवेश दिईएको विषयमा छुट्टाछुट्टै समिति गठन गरेर सशस्त्र र नेपाल प्रहरीले आन्तरिक छानविन थालेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्ट र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलालीका सशस्त्र प्रहरी नायब उपरिक्षक भीम चन्दको  नेतृत्वमा कमिटि गठन गरिएको छ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले पनि रकम असुलेको विषयमा छानविन गर्न जिल्ला प्रहरी कार्यालय कैलालीलाई निर्देशन दिएको बताए। ‘जिल्लालाई छानविन गरेर प्रतिवेदन पेश गर्न भनेको छु। डिएसपीको नेतृत्वमा कमिटि गठन गरिएको छ। प्रतिवेदन प्राप्त भएपछि संलग्नलाई आवश्यक कारवाही गरिन्छ’ डिआईजी सुवेदीले भने।

यसअघि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले समेत दुवै सुरक्षा निकायलाई उक्त विषयमा छानविन गर्न निर्देशन दिएका थिए। कैलालीको त्रिनगर नाकाबाट सुरक्षा निकायकै संरक्षणमा धमाधम भारतीय नागरिक नेपाल भित्रिन थालेपछि कोरोनाको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

सीमामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रतिव्यक्ति पाँच हजार लिएर भारतीय नागरिकलाई भित्र्याइरहेको आरोप लागेको छ। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा विभिन्न उद्योग, ग्यारेज, वर्कसप तथा कपाल पसलमा काम गर्दै आएका भारतीय नागरिकबाट रकम असुलेर परीक्षण बिना भित्र्याईन थालेपछि जोखिम समेत बढेको छ।

सरकारले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन भन्दै  गत चैत १० गतेदेखि अन्तराष्ट्रिय सीमा नाका बन्द गरेको थियो। पछिल्लो पटक मन्त्रीपरिषद् बैठकले साउन ३२ गते सम्म सीमा नाका बन्द राख्ने निर्णय गरेको थियो।

सम्बन्धीत समाचार:

कैलालीमा रकम असुलेर भारतीयलाई प्रवेश दिएको विषयमा छानविन गर्न सिडिओको निर्देशन
कैलालीको त्रिनगर नाकामा प्रहरीलाई पाँच हजार तिरेर नेपाल आउँदै भारतीय !
 

 

कमेन्ट लोड गर्नुस