सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा रकम असुलेर भारतीयलाई प्रवेश दिएको विषयमा छानविन गर्न सिडिओको निर्देशन

२०७७ साउन १९, १२:३३ खबर संवाददाता

धनगढीः कैलालीमा रकम असुलेर भारतीय नागरिकलाई प्रवेश दिईएको विषयमा छानविन गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले रकम असुलेर कुनै सुरक्षा प्रबन्ध बिना भारतीयलाई प्रवेश दिएको विषयमा छानविन गर्न निर्देशन दिएका हुन्।

प्रजिअ बोहराले सुरक्षाकर्मीले नै रकम लिएर भारतीय नागरिकलाई स्वास्थ्य सुरक्षाको प्रबन्ध बिना प्रवेश दिएको विषयमा छानविन गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई निर्देशन दिईएको बताए।

‘अहिले सीमानाका बन्द छन्। समस्यामा परेका नेपालीलाई ल्याउने बाहेकको आवातजावत रोकेको छ।’ प्रजिअ बोहराले भने, ‘यस्तो बेला रकम लिएर भारतीयलाई प्रवेश दिईरहेको कुरा आएको छ। सो विषयमा छानविन गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखलाई मैले आवश्यक निर्देशन दिईसकेको छु।’

कैलालीको त्रिनगर नाकाबाट सुरक्षा निकायकै संरक्षणमा धमाधम भारतीय नागरिक नेपाल भित्रिन थालेका छन्। सीमामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रतिव्यक्ति पाँच हजार लिएर भारतीय नागरिकलाई भित्र्याइरहेको आरोप लागेको छ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा विभिन्न उद्योग, ग्यारेज, वर्कसप तथा कपाल पसलमा काम गर्दै आएका भारतीय नागरिकबाट रकम असुलेर परीक्षण बिना भित्र्याईन थालेपछि जोखिम समेत बढेको छ।

सरकारले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन भन्दै  गत चैत १० गतेदेखि अन्तराष्ट्रिय सीमा नाका बन्द गरेको थियो। पछिल्लो पटक मन्त्रीपरिषद् बैठकले साउन ३२ गते सम्म सीमा नाका बन्द राख्ने निर्णय गरेको थियो।

तर कैलालीमा भने सुरक्षाकर्मीले नै रकम असुलेर भारतीय नागरिकलाई समेत प्रवेश दिईरहेको आरोप लागेको छ। 
 

कमेन्ट लोड गर्नुस