सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भालुको आतंक, एकैदिन तीन जना घाइते

२०७७ साउन १६, ०६:२२ खबर संवाददाता

धनगढी: अछाममा एकैदिन फरकफरक स्थानमा भालुको आक्रमणबाट तीन जना घाइते भएका  छन्। शुक्रबार जिल्लाको रामारोशन गाउँपालिका –६ भाटाकाटीया स्थित तुर्सानी समुदायिक वनमा भालुले आक्रमण गर्दा भाटाकाटियाका ३० वर्षीय दानबहादुर साउद र ३८ वर्षीय तुल साउद घाइते भएका छन्। 

दिउँसो १२ बजेतिर घाँस दाउरा काट्ने क्रममा भएको आक्रमणबाट उनीहरुको शरिरमा चोट लागेकाले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइते दुवैलाई प्रहरी चौकी सान्तडाबाट गएको टोलीले उद्धार गरी बयलपाटा अस्पताल पठाएको अछाम प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताए। 

यस्तै शुक्रबार नै साढे १२ बजेतिर रामारोशन गाउँपालिका –५ छडिखोलाको जंगलमा घाँस, दाउरा काटने क्रममा भालुले ५५ वर्षीय भैरे बटलामाथि आक्रमण गरेको छ। उनको समेत प्रहरी चौकी सान्तडाबाट गएको टोलीले उद्धार गरी बयलपाटा अस्पताल पठाएका सूचना अधिकारी अवस्थीले बताए। उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस