पानी
कल्पना जोशी
मेरै छातीमा हुर्केका माछाहरु
छातीमै छट्पटाए आज
लाचार भइसकेछु म
भान्सासम्म पुग्दा।
एउटै मुहानबाट धारासम्म
पुग्दा
घैँटोमा भरिएको एकथरी म मन्दिरमा
चढाइएँ
बाल्टीमा भरिएको अर्को म
सार्वजनिक शौचालयको छेउमा
प्रतिक्षारत छु
अब चोखो भएर जन्मिन।
नाङ्गो कहिल्यै बस्न पाइँन मैले
कहिले छेकबाँध, कहिले नहर,
कहिले कुलो, कहिले धारा,
कहिले गाग्री, घैँटा, ओम्खरा, गिलास,
आचमनसम्म पु¥याइरहे मलाई।
कहिले मूलबाटै बन्धक बनाएर
छिमेकसम्म बेचिदिए
अब नफर्किनू भनेर पठाइदिए
छिमेकीको आँगन, खेत र
करेसासम्म
फेरि बदनाम गरिदिए
कहिले सप्तकोसी डुबान
कहिले महाकाली अनुशासनहिन भनेर।
म नै म ले नुहाइसकेपछि पनि मान्छेले
फेरि पिउन मलाई नै खोजिरहँदा
म चुपचाप प्रयोग भइरहे,
सुरक्षित पुग्न सकिँन कहिल्यै
मेरो उद्गमस्थलसम्म
कहिले ढुङ्गामा ठोक्किएँ
कहिले बगरमा पोखिएँ
कहिले बलधारी र छतबाट खसेँ
कहिले नालीमा निसासिएर बसेँ।
आफ्नो रङ्ग हेर्नु छ मलाई
मेरै सिमाना र इलाकामा हिँड्नु छ
गद्दारी देखाउँनु छैन
माछाहरुसंग
चाहिएको छैन
कुनै देशको नागरिकता।
महोदय ! आज म आफै कठ्घरामा उभिएको छु
मलाई प्रश्न सोधियोस् एउटा
म के चाहन्छु ? भनेर
बदलामा दुईवटा जवाफ दिन तयार छु
या त मलाई मात्रै पानी बन्नु छ
या त मलाई अब पानी मात्रै बन्नु छैन।
आज पनि सोधिएन प्रश्न भने
मेरो एक सभ्यताको अन्त्य गरिदिन्छु म
बिष्णुमतिको पुलबाट
हाम फालेर बागमतीमा।