सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिकामा फेरी भेटियो कुर्सीमा ‘दिसा’

२०७७ साउन १४, ०६:५५ खबर संवाददाता

धनगढीः धनगढी उप–महानगरपालिकामा फेरी दिसा भेटिएको छ। उप–महानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुखको कुर्सीमा दिसा राखेको भेटिएको हप्ता दिन नबित्दै मेकानिकल सब–इन्जिनीयरको कुर्सीमा समेत दिसा भेटिएको हो। ‘म बस्ने कुर्सीमा दिसा थियो,’ मेकानिकल सव इन्जिनीयर सतविर रानाले भने, ‘कार्यालय समयमै आईपुगेको थिए। सरसरफाई गर्छन् गर्न त खोई उहाँहरुले देख्नुभयो की भएन। त्यो बिरालोले गरेको हो की भन्ने अनुमान छ।’ 

कुर्सीमा दिसा भेटिने बित्तिकै रानाले प्रशासन शाखा प्रमुख नारायणप्रसाद शर्मा लगायतका कर्मचारीलाई खबर गरेका थिए। लगत्तै उनको कार्यकक्षमा पुगेका शर्माकै निर्देशनमा कार्यालय सहयोगी डबल चौधरीले कुर्सीको दिसा पखालेका थिए। ‘नारायण सरले पखाल्न भनेपछि मैले कु्र्सीमा रहेको दिसा पखालेको हुँ’ चौधरीले भने। 

यता प्रशासन तथा जनशक्ति विकास शाखा प्रमुख नारायण प्रसाद शर्माले भने उक्त विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्। शर्मालाई सो विषयमा भने, ‘त्यो विषयमा मलाई केही थाहा छैन्।’ जबकी उनै शर्माकै निर्देशनमा कार्यालय सहयोगीले दिसा सफा गरेका थिए। 

पूरानो घटना ढाकछोप गर्ने अस्त्र
धनगढी उप–महानगरपालिकामा वषौँदेखि कार्यरत केही स्थानीय कर्मचारीको हालीमुहाली छ। ‘राजनीतिक पहुँचका आधारमा उप–महानगरपालिकामा वषौँदेखि डेरा जमाएका ती कर्मचारी निजामती सेवाका कर्मचारीलाई काम गर्नै नदिने वातावरण बनाउन उद्दत छन्। उनीहरु आफ्नो स्वार्थ नमिल्ने कर्मचारीलाई जुनसुकै हालतमा सिध्याउनुपर्छ भन्ने मिसनमा लागेका छन्।’ स्रोतले थप्यो, ‘कसरी आफ्नो स्वार्थ पूर्ती गर्न सकिन्छ भन्ने मनसायका साथ उहाँहरु(केही स्थानीय कर्मचारी) लाग्नुभएको छ।’

त्यसका लागि निजामती सेवाका कर्मचारीलाई अनावश्यक टचर दिने, अनुचित कार्य गर्न बाध्य गराउने, सार्वजनिक रुपमा बदनाम गराउने गतिविधीमा केही कर्मचारी सक्रिय रहेको आरोप लागेको छ। ‘योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीको कुर्सीमा दिसा राखिनुको भित्री रहस्य पनि त्यही हो।’ एकजना कर्मचारीले भने।

उनका अनुसार जोशीले सरुवा भएर धनगढी आएको केही महिना सम्म उपमहानगरपालिकामा कुर्सी समेत पाएका थिएनन्। अर्थात उनलाई कुनै जिम्मेवारी नै दिईएको थिएन। त्यसपछि पनि पटकपटक जोशीलाई आफू अनुकुल चलाउन खोजेका उनीहरुको प्रयास असफल भएपछि जोशी आँखाको तारो बनेका थिए। फलस्वरुप त्यही मानसिकता बोकेका उनीहरुले जोशीको कुर्सीमा दिसा राखेर बदनाम गराउन खोजेको दावी ती कर्मचारीको छ।

तर अहिले आएर घटनालाई अन्तै मोडेर ढाकछोप गर्ने प्रयास गर्दै तीनै कर्मचारीलाई जोशीलाई फकाउन लागेका छन्। उपमहानरपालिकाले जोशीको कुर्सीमा भेटिएको दिसा सोही दिन नष्ट गरिसकेका छ। दिसा नष्ट गरिएपछि के को रहेछ भन्ने कुरा नै यकिन गर्न छानविन समितिलाई मुस्किल परेको छ। शंकाको घेरामा रहेका स्थानीय कर्मचारी निकट भनिएका व्यक्ति समेत सो दिन बिहान जोशीको कार्यकक्षतीर प्रवेश गरेको सिसि टिभी फुटेजमा देखिएको स्रोतले बतायो। तर प्रत्येक्ष दिसा देखेका कर्मचारी भने त्यसबारेमा बोल्न मान्दैनन्। छानविन समितिले समेत उनीहरुकै बयानका आधारमा रिर्पोट तयार पारी पेश गर्ने तयारी गरेको छ।

जोशीको कार्यकक्षमा भेटिएको दिसालाई बिरालाको हो भन्ने बनाउन फेरी मेकानिकल सव इन्जिनीयरको कुर्सीमा पनि दिसा राखेको आशंका गरिएको छ। जोशीको कुर्सीमा भेटिएको दिसा मानिसकै भएको र उनीसँग असन्तुष्ट उप–महानगरपालिका भित्रकै समूहले त्यो राखेको चर्चा चलिसकेका कारण बिरालाकै हो भन्ने बनाउन उनीहरुले फेरी पूरानै प्रकृतिको घटना घटाएको हुनसक्ने दावी गरिएको हो।

यद्यपी छानविन समितिले अध्ययनकै क्रममा रहेकाले अहिले नै केही भन्न नसकिने जनाएको छ। ७ दिन भित्र प्रतिवेदन पेश गर्ने गरी गत साउन ९ गते प्रशासकिय अधिकृत सुरेन्द्र कार्कीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। आउँदो साउन १६ गते समितिलाई दिईएको अवधी सकिदैछ।

कमेन्ट लोड गर्नुस