मर्ने बाँच्नेको भर हुदैँन
प्रदेश हो खट्नु पर्छ तिम्रो इच्छाको कदर हुदैँन,
तिमी गुलाम हौ जहाँ गुलामीको कुनै रहर हुदैँन।
खुकुरीको धारमा जीवन चलाउनेहरु भन्दै थिए,
यो पनि हो एक कटु सत्य मर्ने बाँच्नेको भर हुदैँन।
हात बान्दै बसेर सोच्ने गर्छु कहिलेकाहीँ आफैमा,
म सबथोक ठिकठाक भइदिइयोस भन्छु तर हुदैँन।
आफ्नै माटोमा पसिना बगाए आउँथ्यो सुनौलो बिहानी,
हामिले यस्तो सोच्यौँ थोपा-थोपा मिलेर सागर हुदैँन।
कोसिस जतिसुकै गर सम्झाउन चाहे गर लाखौँ बिन्ती,
अहँ हुँदैन मुर्खलाइ त्यसको कुनै असर हुदैँन।
उसले मात्र रातो अबीर लगाउँदैमा भगवान् बन्यो,
लाग्छ मूर्ति बन्ने सम्भावना नबोकेको पत्थर हुदैँन।
हुँदा डाह गर्ने नहुँदा आँसु बगाउँछ समाज कहिले बुझ्ने,
जन्मेपछी एकदिन मर्नै पर्छ,मान्छे नमरेको खबर हुदैँन।
-रेशम राज बोकटी(रश्म), दोधारा चाँदनी कञ्चनपुर