कैलालीमा छोरी बलात्कारका आरोपी विद्यालयको प्रधानाध्यापकबाट हटाइए
धनगढी: कैलालीमा छोरी बलात्कारका आरोपीलाई विद्यालयको प्रधानाध्यापकबाट हटाइएको छ। जिल्लाको घोडाघोडी नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा मुद्धा दर्ता भएपछि उनलाई पदबाट हटाईएको हो। उनी मुद्धा दर्ता भएसंगै फरार छन्।
मंगलबार बसेको विद्यालय ब्यवस्थापन समितीको बैठकले उनी लगातार विद्यालयमा अनुपस्थित भएको र विद्यालयका अन्य कामकाज गर्न समेत समस्या भएकाले प्रधानाध्यापकबाट हटाउने निर्णय गरेको हो।
बैठकले सोही विद्यालयकी एक शिक्षिकालाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय समेत गरेको छ। उक्त निर्णयलाई नगरपालिकाले स्वीकृत गर्नुपर्नेछ।