सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा बाढी पहिरोको वितण्डाः करोडौं नोक्सानी, दर्जनौं बस्ती विस्थापित

२०७७ साउन ६, १०:५७ रासस

मनसुनी वायुका कारण लगातारको वर्षाले बाजुरा जिल्लामा बाढीपहिरोले वितण्डा देखाएको छ। जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण करौडौँको नोक्सानी भएको छ भने हजारौँ परिवार विस्थापित भएका छन्। वर्षायाम शुरु भएसँगै जिल्लाभरि बाढीपहिरोको घटना भइरहेको छ। बाढी र पहिरोले ठूलो क्षति भएको छ। सोमबार जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति गरेको छ।

बाजुरा खण्डको साँफे–मार्तडी सडकखण्डको ताप्रिसेरा–घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ। आइतबार रातिबाट अविरल वर्षासँगै आएको बाढीपहिरोले बूढीगङ्गा नगरपालिकाकोे कुडी, बजेडी, नडाङ, मुसीगाउँ, खेतकोट ताप्रिसेराको पूरै बस्ती विस्थापित भएका छन्। पानी मुलखोला र ठाँडोखोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताप्रिसेराका खेतीयोग्य जमीन बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले घटनास्थलबाटै जानकारी दिए। 

अविरल वर्षाले बजेडीका केही घर र नडाङका केही घर माथिबाट पहिरो आएर घरहरु चर्केपछि विस्थापित भएका छन्। अहिले उनीहरु सबै छिमेकीको घरमा ओत लागेका छन्। पहिरोले दुवै गाउँ जोखिममा छन्। जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्लास्थित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ गैरेको भनाइ छ।

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घटनास्थलमा पुगेर सोमबार दिउँसो स्थलगत अनुगमन गरेको थियो। बाढीपहिरोका कारण साँफे–मार्तडी सडकखण्डकै सदरमुकाम मार्तडीबाट पानी नाउला, ताप्रिसेरासम्म सडक क्षति भएको छ। सडकको ठाउँठाउँमा पहिरो आएको छ भने कतिपय स्थानमा सडक पूर्णरूपमा क्षति भएको छ।

बाढीपहिरोका कारण जिल्लाको गौमुल गाउँपालिका–६ टुनीमा रहेका १० दलित घरपरिवारसमेत विस्थापित भएका छन्। विस्थापित परिवारलाई गौमुल गाउँपालिकाले राहतको व्यवस्था गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताएका छन्। त्यस्तै गाउँपालिका–४ को गदाडा, ओस्तिबाडा–१ को दुर्गाली, माडीलगायतका वडामा पनि बाढीपहिरोले क्षति पु¥याएको छ। उनीहरु सबैलाई गाउँपालिकाले राहत उपलब्ध गराएर सुरक्षित स्थानमा बस्न भनेको छ।

३२ परिवार जोखिममा

यता बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ का ३२ परिवार विस्थापितको उच्च जोखिममा परेका छन्। आइतबार रातिबाट परेको अविरल वर्षाका कारण घरको चारैतिरबाट पहिरो बग्न थालेपछि वडाका नाइना, मैतोला, लम्मेलासहितका टोल उच्च जोखिममा परेको वडाध्यक्ष कुम्भनाथ योगीले बताए।

मैतोलाका बुदे गुयाल, कर्ण गुयाल, चन्द्र गुयाल, सुरेन्द्र गुयाल, अङ्ग गुयाल, दीपक गुयाल, नन्दे गुयाल, केशव गुयाल, विर्कजङ्गी धामी, वीरजित धामी, मङ्गल धामी, माने गुयालसहितका परिवारको घर जोखिममा छन्। यस्तै नाइनाका माडीखोलाका नन्द विष्ट, धिरु विष्ट, पाउनु विष्ट, हर्क विष्ट, कृष्ण नेपाली, बिर्ज पाध्याय, माने सार्की, चन्द्र सार्की र सिद्ध गन्दर्भको घर पहिरोको जोखिममा परेका छन्। 

वडाध्यक्ष योगीका अनुसार मैतोलावासीले उपयोग गर्दै आएको चाम्डेबगर लघु जलविद्युत् आयोजनाको नहर भत्किएर क्षति पुगेको छ। नहर भत्किँदा विद्युत् बन्द भएको छ भने सिङ्गो गाउँ अँध्यारोमा बस्न बाध्य छ। यस्तै पारी बगर भन्ने स्थानमा धानखेत पनि बाढीले बगाएर क्षति पु¥याएको छ। वडाभित्रकै जाल्पादेवी माविको भवनसमेत जोखिममा छ। 

अध्यक्ष योगीसहितको टोलीले क्षतिको विवरण सङ्कलन तथा अवस्थाबारे अध्ययन गर्ने काम पनि गरिरहेको छ। खप्तड छेडेदह गाउँपालिका–७ मा पनि बाढी पहिरोले क्षति पु¥याएको छ भने दशरथ बढालेक आधारभूत विद्यालयको भवनसमेत भत्किने खतरा बढेको वडाध्यक्ष खगेन्द्र रावतले बताए।
 
कुँडीको सिङ्गो गाउँ पहिरोको जोखिममा 

बाजुराको बूढीगङ्गा नगरपालिका–१ मल्लो कुँडीको सिङ्गो गाउँ पहिरोको उच्च जोखिममा परेको छ। चारैतिरबाट पहिरो बग्न थालेपछि कुँडीमा बसोबास गर्ने ११६ बढी परिवार उच्च जोखिममा परेका हुन्। सोही स्थानमा दुई वर्ष पहिले विसं २०७५ भदौमा पनि पहिरो गएको थियो। पहिरोबाट एक जनाको मृत्यु र एक दर्जन परिवार विस्थापित बनेका थिए।

यो वर्ष पनि सिङ्गो गाउँको चारैतिरबाट पहिरो बग्न थालेको छ। जोखिममा रहेका ११६ बढी परिवारको तत्काल उठीबासको चिन्ता बढेको स्थानीय मनबहादुर विकले बताए।

जनप्रतिनिधिको टोली बाढी प्रभावित क्षेत्रमा पुग्यो

जिल्लाको बूढीगङ्गा नगरपालिकामा बाढीपहिरोले पारेको क्षतिबारे नगरप्रमुख दीपकविक्रम शाह र उपप्रमुख तारा खातीसहितको टोलीले जानकारी लिएको छ। बाढी प्रभावित बनेको क्षेत्रमा नगरप्रमुख शाह, उपप्रमुख खाती, वडा नम्बर २ का अध्यक्ष हीरालाल थापा, ३ का अध्यक्ष खड्क अधिकारीसहितको टोली पुगेर जानकारी लिएको हो।

यस्तै प्रमुख जिल्ला अधिकारी गैरेसहितको टोलीले पनि सोमबार दिउँसो घटनास्थलको प्रत्यक्ष अनुगमन गरेको छ। जिल्ला विपद् व्यवस्थापन समिति संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी गैरेसहित प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराई। सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधिलगायतले अवस्थाबारे जानकारी लिएका छन्।
 

कमेन्ट लोड गर्नुस