कैलाली भन्सारबाट हुने आयात ४ अर्बले घटेपछि झण्डै दुई अर्ब राजश्व गुम्यो
धनगढीः विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण राजश्व संकलन समेत घटेको छ।
सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सारबाट हुने आयात निर्यात घटेपछि लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको हो। कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७६/७७ मा त्रिनगर नाकाबाट १७ अर्ब ६२ करोड बराबरको सामान आयात भएको जनाएको छ।
जुन अघिल्लो आर्थिक वर्ष २०७५/७६ तुलनामा १९ प्रतिशत अथात् चार अर्ब ८ करोडले कम हो। कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ईश्वरीप्रसाद अर्यालले आर्थिक वर्ष २०७५/७६ मा त्रिनगर भन्सार नाकाबाट २१ अर्ब ७० करोडको सामान आयात भएकोमा भर्खरै सकिएको आर्थिक वर्ष २०७६/७७ मा १७ अर्ब ६२ करोडको मात्र आयात भएको दिनेश खबरलाई जानकारी दिए।
अर्यालले आयात घटेसँगै लक्ष्य अनुसार राजश्व समेत संकलन नभएको बताए। गत वर्ष वार्षिक ६ अर्ब ७० करोड राजश्व संकलन गर्ने लक्ष्य राखिएको भएपनि ४ अर्ब ९२ करोड मात्रै संकलन गर्न सकिएको उनले बताए। जुन लक्ष्यको झण्डै २७ प्रतिशत अथात् एक अर्ब १८ करोडले कम हो। आर्थिक वर्ष २०७५/७६ मा भने कैलाली भन्सार कार्यालयले पाँच अर्ब १९ करोड राजश्व संकलन गरेको थियो।
यसको तुलनामा भने गत वर्षको राजश्व पाँच प्रतिशतले कम रहेको छ। यस्तै कैलाली भन्सारबाट हुने निर्यातमा समेत कमी आएको छ। आर्थिक वर्ष २०७५/७६ मा ८० करोड बराबरको सामान त्रिनगर भन्सार नाका भएर निर्यात भएकोमा गत वर्ष भने ५४ करोडको मात्र निर्यात भएको प्रमुख भन्सार अधिकृत अर्यालले बताए।
उनले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण आयात निर्यातमा कमी आएको बताए। सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी गरेपछि अत्यावश्यक बाहेकका सामानको आयात निर्यात रोकेका कारण लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ।