सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जनप्रतिनिधिले लगाए नेकपा जिन्दावादको नारा, स्थानीयविरुद्ध उतारे पार्टी कार्यकर्ता

२०७७ साउन ३, ०७:२५ विन्दु चन्द

धनगढी: बैतडीमा स्थानीय नागरिक विरुद्ध जनप्रतिनिधिहरु प्रदर्शनमा उत्रिएका छन्। जिल्लाको पञ्चेश्वर गाउँपलिकाका जनप्रतिनिधिसहित नेकपाका कार्यकर्ताहरु स्थानीय विरुद्ध प्रदर्शनमा उत्रिएका हुन्।

स्थानीयले गाउँपालिका र वडा कार्यालयको गत आर्थिक वर्षको खर्चविवरण सार्वजनिक गर्न माग गरेका थिए। साथै उनीहरुले कोरोना महामारीका बीचमा राहत वितरण, क्वारेन्टिन व्यवस्थापन, स्वास्थ्य सामग्री खरिद लगायतमा गाउँपालिकाद्धारा गरिएको खर्चको विवरण सार्वजनिक गर्न माग गरेका थिए। 

उनीहरुले खर्च विवरण सार्वजनिक गर्न माग गर्दै बिहीबार गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दलाई ज्ञापनपत्र बुझाउने सहितका कार्यक्रम राखेका थिए। तर, अध्यक्ष चन्दले ज्ञापनपत्र बुझ्न आनाकानी गरेको र खर्च विवरण सार्वजनिक गर्न नमिल्ने अडान राखेपछि स्थानीयले बिहीबार नै वडा नम्बर ४ को कार्यालयमा तालाबन्दी गरेका थिए। 

स्थानीयले तालाबन्दी गरेपछि शुक्रबार गाउँपालिकाका जनप्रतिनिधिहरुले सयौंको संख्यामा पार्टी कार्यकर्तालाई प्रदर्शनमा उतारेका छन्।  उनीहरुले ‘नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद,  कार्यालयमा तालाबन्दी गर्न पाइँदैन, दलालहरुरु होसीयार, केपी ओली जिन्दावाद’ लगायतका नाराहरु लगाएका थिए। 

यता स्थानीयले गाउँपालिकाले खर्च विवरण सार्वजनिक गर्नको सट्टा आसेपासेलाई बोलाएर माग गर्नेहरुलाई थर्काउने गरेको बताएका छन्। अध्यक्ष चन्दले पार्टी कार्यकर्ताहरुलाई खसीभात र रक्सी खुवाएर बिहीबार लगाइएको ताला समेत टुटाएको स्थानीय प्रकाश चन्दले आरोप लगाएका छन्।

 उनले दुईदिन पहिले नै नागरिक भेला बस्ने भन्दै वडा कार्यालयलाई जानकारी गराउँदा बिहीबार वडा कार्यालयमा कोहीपनि जनप्रतिनिधि नआएपछि आफुहरुले वडा कार्यालयमा तालाबन्दी गरेको बताए। उनले भने ‘हामीले ३/४ दिनदेखि नै खर्च विवरण सार्वजनिक गर्न माग गर्दै ज्ञापनपत्र बुझाउने भनेर पटकपटक जानकारी गराईरह्यौँ। बिहिबार आम नागरिक भेला हुने भन्दा, सो दिन साँझसम्म कोहीपनि जनप्रतिनिधि कार्यालयमा उपस्थित नभएपछि ताला लगाएर फर्कियौँ।’ 

उता गाउँपालिकाका उपाध्यक्ष विना भट्टले भने विज्ञप्तीको बारेमा आफुहरुलाई जानकारी नभएको र उक्त विज्ञप्ति आफुहरुलाई नदिएको बताएकी छन्। उनले वडा कार्यालयका अध्यक्ष राजबहादुर चन्दको निधन भएपछि सो कार्यालयमा आफुहरुलाई काम गर्न असहज भइरहेको बताइन्।

कांग्रेस निकटका कार्यकर्ताहरुले आफुहरुलाई काम गर्न नदिरहेको उनको आरोप छ। उनले भोजको विषयमा पार्टीले कार्यक्रम राखेकोले त्यो भोजभतेर नभई टाढाबाट आएका मान्छेहरुलाई खाना खुवाएको बताइन्। यस विषयमा गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दसँग बुझन खोज्दा सम्पर्क हुन सकेन्।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तत्कालिन एमालेबाट निर्वाचित भएका हुन्। 

 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस