सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आज २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९५६ पुग्यो

२०७७ असार ३०, ०४:३२ खबर संवाददाता

धनगढी : सुदूरपश्चिममा आज थप २० जनामा कोरोना पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा १२, धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सात र शिक्षण अस्पतालको प्रयोगशालामा एक गरी आज २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा आज अछाम जिल्लाका १२ जनामा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पतालमा गरिएको परीक्षणमा कैलालीका एक जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए। 

यता सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढीमा गरिएको परीक्षणमा आज सात जनामा कोरोना पुष्टि भएको छ। कैलालीको टीकापुर नगरपालिका वडा नम्वर ५ का ७४ बर्षीय पुरुष, गौरीगंगा नगरपालिका वडा नम्वर ४ का ४० बर्षीया महिला, लम्की चुहा नगरपालिका वडा नम्वर ५ का ४० बर्षीया महिलामा कोरोना पुष्टि भएको उनले बताए।

उनका अनुसार शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ कञ्चनपुरका २२ बर्षीय युवक र अछामको साँफेवगर नगरपालिका वडा नम्वर ११ का २३ बर्षीय महिलामा कोरोना पुष्टि भएको छ। सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८० जनाको कोरोना परीक्षण गरिएको उनले जानकारी दिए। 

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार नौँ सय ५६ पुगेको छ। संक्रमण पुष्टि भएका एक हजार पाँच सय १३ जना डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ। 
 

कमेन्ट लोड गर्नुस