कैलालीको पहलमानपुर–लालबोझी सडक मर्मत गर्ने सहमती
धनगढी : कैलालीको पहलमानपुर–लालबोझी सडक मर्मत गर्ने सहमती भएको छ। सडक हिलाम्य भएको भन्दै स्थानीयले आइतबार पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै मर्मतको लागि ज्ञापनपत्र बुझाएपछि नगरपालिकाले तत्कालका लागि सडक मर्मत गरी आवतजावतमा सहजता ल्याउने प्रतिबद्धता जनाएको छ।
नगरपालिकाले सोमबार एक विज्ञप्ति जारी गर्दै घोडाघोडी नगरपालिकाले पहलमानपुर– लालबोझी सडक तत्काल मर्मत गरी दिर्घकालिन रुपमा सडकको स्तरोन्नती गर्ने जनाएको छ। पहलमानपुर लालबोझी सडक खण्ड तत्काल मर्मत गर्ने र आर्थिक बर्ष २०७७/०७८ कालोपत्रेको लागि पहल गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ।
हिलाम्य सडकका कारण आवतजावतमा समस्या भएको भन्दै आइतबार घोडाघोडी नगरपालिका–११ का स्थानीयले एक घण्टाका लागि पहलमानपुर मा पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका थिए।