सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात कार्यालय धनगढीमा कर बुझाउनै मुस्किल

२०७७ असार २९, ०६:१६ रोशन भट्ट

धनगढी: कैलाली गेटाका दिपेन्द्र पाल यातायात व्यवस्था कार्यालयमा कर बुझाउनकै लागि बिहान ९ बजे धनगढी पुगे। सयौंको संख्यामा लाईन लागेका सेवाग्राहीसँगै उनी पनि लाइन बसे। 

कोरोना त्रासकाबिच कर बुझाउन यातायात कार्यालय पुगेका पाल सामाजिक दुरी कायम नगरी लाइनमा बस्न बाध्य भएका थिए। बिहान ९ बजे लाइन लागेका पालको पालो दिउँसो एक बजेसम्म पनि आएन। ‘छिटो काम होला भनेर बिहानै आएको थिए, समयमा काम नहुँदा समस्या भइरहेको छ’ उनले दुखेसो गरे। सरकारलाई कर बुझाउन पनि आपत भएको उनको गुनासो थियो।  

कर बुझाउनकै लागि धनगढी उप–महानगरपालिकाका वडा नम्बर ३ का प्रेम पाण्डये पनि यातायात व्यवस्था कार्यालय कैलालीमा बिहान १० बजे पुगेका थिए। कार्यालय खुले बाटनै  लाइन बसेका पाण्डेयले पनि एक बजेसम्म कर बुझाउन नसकेको सुनाए। ‘सरोकारवाला निकायको बेवास्ताका कारण अव्यवस्थित रुपमा नै कर बुझाउनुपर्ने बाध्यता छ’, उनले भने। सरकारलाई कर बुझाउन समेत जनताले सास्ती पाइरहेको उनको गुनासो थियो।  ‘सरकारलाई कर बुझाउन बिहान ६ बजेदेखि लाइन बस्नु पर्ने यो कस्तो व्यवस्थापन हो’ उनले प्रश्न गरे।  

कोरोना प्रभावपछि जारी लकडाउनको अवधिको कसर समेत यसै आर्थिक वर्षभित्र बुझाउनुपर्ने भएका कारण केहि दिन यता कार्यलयमा भिडभाड बढेको छ। असार मसान्तसम्म कर बुझाउन नसके जरिवाना समेत तिर्नु भएकाकारण अहिले भिडभाड बढेको हो। तर सुदूरपश्चिम प्रदेश सरकारकै मातहत रहेको यातायात व्यवस्था कार्यालय कैलालीले सेवा प्रवाहलाई व्यवस्थीत बनाउन लापरवाही गरेको गुनासो सेवाग्राहीको छ। 

यता यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले भने असार मसान्तभित्र कर बुझाउनेलाई जरिवाना नलाग्ने भएका कारण भिड बढेको बताए। ‘यो महिनाभित्र यस्तै भिड हुन्छ। हामीले आफ्नो तर्फबाट गर्ने व्यवस्थापन गरिरहेका छौं’ उनले भने।

आर्थिक वर्षको अन्त्यमा सवारी कर बुझाउनुपर्ने, नविकरण गर्नुपर्ने, सवारी साधन नामसारी गर्नुपर्ने लगायतका विभिन्न कामले सेवाग्राहीहरु यातायात व्यवस्था कार्यालय पुग्ने गरेका छन्। तर बैंक काउण्टरको अभाव, व्यवस्थापनमा आनाकानीका कारण सेवाप्रवाहमा ढिलासुस्ती मात्रै भएको छैन्। कार्यालयमा लागेको अत्यधिक भिडमाडले कोरोना भाइरसको जोखिम समेत बढेको छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस