धनगढीका पराजित उम्मेदवार भन्छन्– तीन वर्षमा जनअपेक्षा अनुसार काम भएन
धनगढीः तत्कालीन नेकपा माओवादीबाट धनगढी उप–महानगरपालिकाको मेयरमा चुनाव लडेका रामसमझ राना अहिले नेपाली काँग्रसमा प्रवेश गरिसकेका छन्। धनगढी उपमहानगरपालिकामा उनकै पार्टीको सरकार छ।
अहिलेका मेयर नृपबहादुर वडसँग चुनावी प्रतिस्पर्धा गरेका राना तीन वर्षे कार्यकालमा जनप्रतिनिधिहरुले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताउँछन्। लामो समयदेखि जनप्रतिनिधि विहिन बनेका स्थानीय तहमा निर्वाचित प्रतिनिधि आएपछि विकास निर्माण लगायतका कामले गति लिने अपेक्षा गरिएको भएपनि त्यो पूरा नभएको उनको भनाई छ।
धनगढीका मेयर/उपमेयर लगायतका जनप्रतिनिधिले चुनावका बेला जनतासामू गरेको प्रतिवद्धता अनुसार काम नगरेपछि जनअपेक्षा पूरा नभएको हो। ‘नेताहरुले चुनावका बेला सौर्य उर्जा–लालपुर्जाको नारा लगाएका थिए। तर त्यो कुरा अहिले सम्म निर्वाचित जनप्रतिनिधि ज्यूहरुले अगाडी बढाउनुभएको छैन्।’ उनी भन्छन्, ‘उहाँहरुले काम गरिराख्नुभएको नै छ तर लालपुर्जाको विषयलाई अगाडी बढाउनुपर्ने देखिन्छ।’
सुदूरपश्चिमकै एकमात्र धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधिहरुले पदभार सम्हालेपछि जनतालाई दिएका आश्वासन नै भुलेको आरोप लागेको छ। उनीहरुले चुनावी घोषणा पत्र र जनतासँग चुनावका बेला गरेका प्रतिबद्धता भुलेपछि जनअपेक्षा अनुसार काम नभएको दावी गरिएको छ।
जनप्रतिनिधिहरुलाई आफ्नो घोषणा पत्र स्मरण गर्दै बाँकी रहेको समयमा जनताका लागि काम गर्न समेत सुझाव दिईएको छ। तत्कालीन नेकपा एमालेबाट धनगढी उप–महानगरपालिकाको मेयरका उम्मेदवार रहेका दुर्गाप्रसाद जोशीले जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष पुगेको भएपनि जनअपेक्षा अनुसार काम नभएको बताए।
‘धनगढीमा जनअपेक्षा अनुसार काम भएको देखिदैन्। किनभने जनताको सामु उहाँहरुले चुनावका बेला जुन जुन बाचाहरु गर्नुभएको थियो, ती पूरा भईसकेको अवस्था छैन्।’ उनले भने, ‘कहिले जनशक्ति त कहिले बजेटको अभाव देखाएर यो भएन त्यो भएन भन्ने कुरा सुन्नमा आउँछ। उहाँहरुलाई चुनावी प्रतिवद्धता अनुसार काम गर्न सुझाव दिन्छु।’
धनगढीको विकास र समृद्धिका लागि थुप्रै काम गर्ने अवसर भएपनि निर्वाचित जनप्रतिनिधिहरुले तीन वर्षे कार्यकाल ख्याल ख्यालमै बिताएका छन्। दुई दशक सम्म जनप्रतिनिधि विहिन बनेका स्थानीय तहमा जनप्रतिनिधि आएपछि पनि पूरानै काम गर्ने शैली कायमै रहेको छ भने भ्रष्टाचार र आर्थिक अनियमितता झनै मौलाउदै गएको छ।
विकास निर्माणका लागि आउने बजेटको ठुलो हिस्सा अनियमितता र भ्रष्टाचारमा जान थालेपछि समेत जनअपेक्षा अनुसार काम हुन नसकेको आशंका गरिन थालिएको छ। धनगढी उप–महानगरपालिकाको मेयरमा स्वतन्त्र चुनाव लडेका गोपाल हमाल कार्यशैली परिवर्तन गरेर काम गर्न सुझाव दिन्छन्।
‘हिजो अधिकार नभएको तर आज अधिकार र साधन स्रोत सम्पन्न नगरपालिकामा जनताले के पायो भन्ने विषय महत्वपूर्ण हुन्छ।’ हमालले भने, ‘हिजोको सेवा प्रवाह, कार्यशैली, चुस्तदुरुस्ततता जुन थियो त्यो आज कस्तो छ? आम जनताले के महसुस गरेका छन्? सहज ठानेका छन् की ? कर्मचारीले चलाएकै जस्तो नै छ भने त्यो परिवर्तनको आभास जनताले पाउँदैनन्।’
उनले जनप्रतिनिधिहरुले चुनावको समयमा घोषणा पत्रमा उल्लेख गरेका कुराहरु पूरा गरे की गरेनन् भन्ने कुराले नै तीन वर्षे कार्यकालको समिक्षा गर्न सकिने बताए। यता निर्वाचित जनप्रतिनिधिहरुले भने जनअपेक्षा अनुसार नै काम गरिरहेको दावी गरेका छन्।
नयाँ अभ्यास र संरचनाका कारण केही कानूनी जटिलताले काम गर्न समस्या भएपनि जनअपेक्षा अनुसार नै काम गरिरहेको उनीहरुको भनाई छ। धनगढी उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १ का अध्यक्ष सन्तोश मुडभरीले जनताको इच्छा चाहाना कहिल्यै पनि पूरा गर्न नसकिने बताउँदै तरपनि सोही अनुसार काम गरिरहेको बताए।
उनले विकास निर्माणतर्फका काम समेत कहिल्यै पूरा नहुने भन्दै तैपनि आफूहरु जनताको पक्षमा काम गर्न प्रतिवद्ध रहेको उनी बताउँछन्। तर जनप्रतिनिधिहरुले चुनावका बेला गरिएका प्रतिबद्धता कुर्सी पाएपछि बिर्सेको आरोप लाग्दै आएको छ।