डडेल्धुरा सदरमुकामलाई पनि लाग्यो ‘असार मसान्त’
डडेल्धुरा : कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेसँगै सुनसान बनेको डडेल्धुरा सदरमुकाममा चहलपहल बढेको छ। देशमा कोरोना पूर्णरुपमा नियन्त्रणमा नआइसकेको अवस्थामा डडेलधुरा सदरमुकाममा भने असारको अन्तिम सातादेखि चहलपहल बढेको छ।
डडेल्धुरामा केही साता अघिसम्म कोरोना संक्रमित हरुको दर उच्च रहँदा जिल्ला सुरक्षा समिति र विभिन्न स्थानीय तहले आफ्नो स्थानीय तह शिल गरेका थिए। तर पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमितहरुको संख्या घट्दै गएकाले विभिन्न गाउँबाट जिल्ला सदरमुकाम आउने संख्या दिनप्रतिदिन बढ्दै गएको छ।
आर्थिक वर्षको अन्तिम महिनामा सरकारी कार्यालयहरुबाट विभिन्न योजनाहरुको भुक्तानी लिनका लागि ग्रामीण क्षेत्रबाट मानिसहरु आउने गरेका छन्। भने सरकारी कार्यालयहरुसँग वर्षभरी भएका कारोबारको रकम फरफारक गर्नुपर्ने समय भएको हुँदा व्यापारीहरुले पनि बिल–भौचार व्यवस्थापनका लागि भन्दै बजार पूर्णरुपमा सुचारु गरेका छन्।
कारोनाको संत्रास कम भएकाले अहिले जिल्लाका सरकारी कार्यालयहरु, कोष तथा लेखा नियन्त्रण कार्यालय, आन्तरिक राजस्व कार्यालय, विद्युत कार्यालय र बैंकहरुमा सेवाग्राहीहरुको चाप अत्यधिक बढेको छ।