सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा असारे विकासको चटारोः दैनिक १४ करोड बजेट खर्च

२०७७ असार २८, ०२:४२ खबर संवाददाता

धनगढीः कैलालीका विकासे कार्यालयहरु आर्थिक वर्ष सकिन चार दिन बाँकी रहेका बेला बजेट खर्च गर्ने दौडधुपमा लागेका छन्। वर्षभरी प्राय फुर्सदमै बसेका विकासे कार्यालयहरुलाई अहिले बजेट खर्च गर्ने चटारो लागेको हो।

कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीको तथ्याङक अनुसार कैलालीमा अहिले दैनिक १४ करोड ४० लाख बढि बजेट खर्च भईरहेको छ। जिल्लाका विकासे कार्यालयले बितेको आठ दिनको अवधीमा झण्डै एक अर्ब १२ बजेट बढि खर्च गरेका छन्।

जिल्लामा असार १९ गते सम्म चालु र पुँजीगत समेत गरी २८ अर्ब २२ करोड ३७ लाख खर्च गरिएकोमा आठ दिनको अवधीमा एक अर्ब १२ करोड ७४ लाख खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद जोशीले आईतबार दिउँसो सम्म चालु र पुँजीगत समेत गरी २९ अर्ब ३५ करोड खर्च भएको जानकारी दिए। जुन कुल विनीयोजित बजेट ३५ अर्ब ५६ करोडको ८१ दशमलव ७३ प्रतिशत रहेको छ।

यस्तै पुँजीगततर्फ मात्र आईतबार दिउँसो सम्म विनीयोजित ९ अर्ब २३ करोड मध्ये चार अर्ब ४१ करोड अथात् ४७ दशमलव ७८ प्रतिशत बजेट खर्च भएको छ। चालुतर्फ २६ अर्ब ३३ करोड वार्षिक बजेट रहेकोमा आईतबार सम्म २४ अर्ब ९४ करोड अथात् ९३ दशमलव ४७ प्रतिशत खर्च भएको छ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले सोमबार सम्म मात्र बजेट निकासा दिने जनाएको छ। प्रमुख कोष नियन्त्रक जोशीले बिल भरपाई सहित भुक्तानीका लागि पुग्ने कार्यालयलाई सोमबार सम्म मात्र निकासा दिईने बताए।

३० र ३१ गते भने लेखा नियन्त्रण कार्यालयकै आन्तरिक काम हुने भएकाले भुक्तानीका लागि आउने कार्यालयलाई निकास नदिईने बताए। 

कमेन्ट लोड गर्नुस