धनगढी उप–महानगरपालिकामा कार्यकर्ता खुसी बनाउन हतारमा कार्यक्रम कार्यान्वयन
धनगढी : लक्षित वर्गका कार्यक्रममा वर्षेनी ठुलो बजेट खर्च गर्दै आएको धनगढी उप–महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷७७ मा पनि लाखौँ बजेट विनीयोजन गरेको थियो। विभिन्न किसिमका तालिम एवंम जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको उप–महानरपालिकाले चालु वर्षमा विगतको भन्दा फरक ढंगबाट कार्यान्वयन गरेको पाईएको छ।
यसअघिका वर्षहरुमा वडा स्तरबाट कार्यान्वयन गर्ने गरिएकोमा यसवर्ष भने प्रत्येक वडाबाट लाभग्राही छनौट गरी छुट्टाछुट्टै्र समूह बनाएर तालिम सञ्चालन गरेको छ। कृषितर्फ पनि यसरी च्याउ खेती, तकारी खेती लगायतका केही कार्यक्रम कार्यान्वयन गरिएको भएतापनि लकडाउनका कारण अन्य कार्यक्रम भने सञ्चालन गर्न नसकिएको दावी गरिएको छ।
धनगढी उपमहानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्यायले लक्षित वर्गका केही तालिम सञ्चालन भएपनि लकडाउनका कारण केही कार्यान्वयन गर्न नसकिएको बताए। कृषि शाखाले मौसमी तालिम सञ्चालन गर्ने गरेको बताउँदै उनले हिउँदमा बेमौसमी तरकारी खेती, च्याउ खेती जस्ता तालिम प्रदान गरिएपनि धान खेती लगायतका कार्यक्रम हुन नसकेको बताए।
विगतका वर्षमा वडा स्तरमै छुट्टाछुट्टै समूह बनाएर तालिमहरु सञ्चालन गरिदै आएकोमा अहिले भने विभिन्न वडाहरुबाट लाभग्राही छनौट गरी एकत्रित पारेर तालिद दिदै आएको उनले बताए। उप–महानगरपालिकाले लकडाउनको मौका छोपेर समेत विनीयोजित बजेट खर्च गर्न हतार हतारमा लक्षित वर्गका कार्यक्रम कार्यान्वयन गरेको पाईएको छ।
वडा स्तरबाट लाभग्राही छनौट गरेको उप–महानगरपालिकाले लक्षित वर्गका तीन दिने र सात दिने असार मसान्त सकिने बेला सञ्चालन गरेको छ। वडा नम्बर ६ का अध्यक्ष भागिराम चौधरीले जनचेतना मुलक कार्यक्रमका लागि लाभग्राही छनौट गरेर उपमहानगरपालिकालाई सिफारिस गरिएको बताए।
यसअघिका वर्षमा भने वडामै तालिम सञ्चालन गरिदै आएको थियो। बेमौसमी तरकारी खेती, च्याउ खेती, सिलाईकटाई, ब्युटीपालर, हाते कडाई लगायतका तालिमका नाममा वर्षेनी ठुलो बजेट खर्च गरी उपलब्धीको कुनै लेखाजोखा नै नराखेको उप–महानगरपालिकाले कोरोना महामारीकाबीच समेत कार्यकर्ता खुसी बनाउन कार्यक्रम सञ्चालन गरेको आरोप लाग्दै आएको छ।
वडा कार्यालयहरुले विगतमा जस्तै उप–महानगरपालिकाबाट बजेट आएपछि कार्यक्रम कार्यान्वयनमा सहयोग गरिदिएका बताउँदै आएका छन् तर उत्पादनमुखी काम भएका छैनन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष नरबहादुर बमले समेत लक्षित वर्गका कार्यक्रमबाट कुनै उपलब्धी नदेखिएको स्वीकार गरे।
उनले उप–महानगरपालिकाले वार्षिक बजेटमा कार्यक्रम समावेश गर्दै आएकाले कार्यान्वयनमा आफूहरुले समेत सहयोग गर्ने गरेको बताए। उप–महानगरपालिकाको स्वास्थ्य शाखाले समेत चालु वर्षमा विभिन्न वडाका महिला स्वास्थ्य स्वयम सेविका र भलमन्सालाई साईकल तथा मोवायल, छाता टर्च वितरण एवंम धामी झाकी नसर्ने रोग सम्बन्धी तालिम प्रदान गरिएको जनाएको छ।
जसमा झण्डै १५ लाख बजेट खर्च गरिएको छ। तर सामाजिक विकास शाखाले भने कोरोना महामारीका कारण जोखिम हुने भन्दै लक्षित वर्गका कुनै पनि कार्यक्रम सञ्चालन गरेको छैन्।
सामाजिक विकास शाखाका प्रमुख टंकबहादुर विष्टले कोरोना महामारीका कारण कार्यक्रम सञ्चालन नगरिएको बताए।
उनले उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट लक्षित वर्गका कार्यक्रमको बजेट व्यवस्थापन गर्ने व्यवस्था भएपनि लकडाउनका कारण राजश्व संकलन नै नभएपछि समस्या भएको जनाए।
तर उपमहानगरपालिकाले लकडाउनकै कारण लक्षित वर्गका धेरै कार्यक्रम सञ्चालन गर्न नसक्दा विनियोजन गरेको ठुलो बजेट फ्रिज गएको दावी गरेको छ।