सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस र राजपाको नाराबाजीकाबीच सुदूरपश्चिम सरकारको बजेट पारित

२०७७ असार २४, ०४:४६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ल्याएको बजेट प्रतिपक्षी दलको नाराबाजीकाबीच पारित भएको छ।

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले प्रदेशसभामा प्रस्तुत गरेको ३३ अर्ब ३८ करोड १३ लाखको बजेट प्रतिपक्षीको नाराबाजीकाबीच पनि बहुमतले पारित भएको हो। तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीले भने सरकारका विरुद्ध रोष्टममा नाराबाजी गरिरहेका थिए।

यसअघि असार २१ गतेको बैठकमा प्रतिपक्षी दलको अवरोधका बीच नै आर्थिक वर्ष २०७७÷०७८ को बजेटमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गरिएको थियो।

प्रतिपक्षी दलले भने प्रदेशमा कोभिड–१९ को सङ्क्रमण भयावह बन्दै जाँदा पनि यसको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गर्न माग गर्दै बजेट पेश भएदेखि नै सभामा अवरोध सिर्जना गर्दै आएका थिए।

सभामुखले प्रतिपक्षी दलले सभामा अवरोध कायमै राख्ने देखेपछि पेलेरै बजेटमाथिको छलफल अगाडी बढाएका थिए। बजेट पारित भएसँगै प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगीत भएको छ।

सभामुख अर्जुनबहादुर थापाले अर्को सूचना जारी नभए सम्मका लागि बैठक स्थगीत गरेका हुन्। 
 

कमेन्ट लोड गर्नुस