सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सांसद आलेको वनका अध्यक्षलाई धम्की– ‘टाउको तल गरेर कुरा गर’

२०७७ असार २३, ०६:१२ खबर संवाददाता

धनगढी: प्रतिनिधिसभा सदस्य प्रेम आलेले सर्वसाधारणलाई अपशब्द प्रयोग गरी अपमान गरेको भिडियो यतिबेला भाइरल बनेको छ। कैलालीस्थित विभिन्न सामुदायिक वनमा लागू भएको वैज्ञानिक वन कार्यक्रमको स्थलगत अनुुगमन गर्न छानविन उपसमिति समितिका संयोजक प्रदिप यादवसहित पुगेका उनले अनुुगमनका क्रममा सामुदायिक वनका पदाधिकारी र तल्लो स्तरका वन कर्मचारीलाई अपशब्द प्रयोग गरेको बताइएको छ।

वैज्ञानिक वनको नाममा अत्यधिक फडानी भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले संसदीय छानबिन उपसमिति बनाएको थियो। डोटीबाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद आले सोही उपसमितिका सदस्य रहेका छन्। 

त्यही समितिबाट अनुगमन गर्न भनी कैलाली पुगेर बोलेको अपशब्दका कारण यतिबेला आलेको चौतर्फी आलोचना भइरहेको छ। मंगलबार लम्कीका विभिन्न वनहरुको अनुगमन गर्दै उनी महोन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिसौना पुगेका थिए। सोही स्थानमा बोलेको कुरा यतिबेला भाइरल बनेको हो। उक्त भिडियोमा उनले ‘तपाई जंगल मासेर बर्ता कुरा गर्ने हैन है, बढी कुरा गर्ने हैन। टाउको तल गरेर कुरा गर। जंगल फाड्ने अझै ठुला कुरा गर्ने’ भनेको देखिन्छ। उनले यी कुरा भनेर जनकल्याण सामुदायिक वनका अध्यक्ष जनक गिरीलाई हपारेका थिए। 

दलबलसहित अनुगमन गर्न पुगेका उनले गाली गलौचसहित धम्कीको शैलीमा उत्रिएपछि वनका पदाधिकारी र वन कर्मचारी त्रसित भएका छन्। त्यसबारे सामुदायिक वनका अध्यक्ष गिरीले सरकारले लागू गरेको वैज्ञानिक वन कार्ययोजना अनुसार नै काम गरिरहेको बताए। तर काम गर्दागर्दै पनि सासंद आलेले सबैको सामु अमानवीय ढंगले झपारेकोमा उनले दुःख व्यक्त गरे।

यस विषयमा सांसद प्रेम आलेको प्रतिक्रिया बुझ्न सम्पर्क गर्न खोज्दा गर्दा उनको फोन उठेन। 

कमेन्ट लोड गर्नुस