सुदूर नेपाललाई विश्वसँग जोड्दै

समुदाय र जात विशेषका मन्दिर बनाउन सुदूरपश्चिम सरकारको १५ करोड बजेट

२०७७ असार २१, ०८:२३ जनक विष्ट

धनगढी : पर्यटन प्रवर्द्धनका नाममा समुदाय र जात विशेषका मठ मन्दिरमा करोडौँ खर्च गर्दै आएको सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले अगामी वर्षका लागि समेत पूरानै ढर्राको बजेट ल्याएको छ।

अगामी आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न विषयसँग सम्बन्धीत चार सय ७३ कार्यक्रम र योजना बजेटमा समावेश गरेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले साढे तीन सय बढि शिषर्क पर्यटन प्रवर्द्धनका राखेको छ।

जसमा झण्डै तीन सय बढि योजना समुदाय विशेषका मठमन्दिर, गुम्बा एवंम ती मन्दिर सम्म पुग्ने पदमार्ग निर्माणका लागि बजेट छुट्याएको छ। एउटा योजनामा पाँच लाख देखि चार करोड सम्मको बजेट विनीयोजन गरेको छ।

यसरी प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका नाममा मठ मन्दिर निर्माणका लागि मात्र बजेट छुट्याएपछि विरोध हुन थालेको छ। सुदूरपश्चिम सरकारको पर्यटन प्रवर्द्धन  समिकिा सदस्य एवंम लामो समयदेखि पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गदै आएका किशोर खड्काले प्रदेश सरकारले पूरानै शैलीको बजेट ल्याएको बताए।

उनले सुदूरपश्चिमको पर्यटन व्यवसायलाई चलायमान बनाउन सकिने खालका योजना ल्याउन सुझाव दिईएको भएपनि त्यसको वेवास्ता गर्दै पर्यटन प्रवर्द्धनका नाममा मन्दिरमा बजेट हालिएको बताए। ‘हामीले बारम्बार पर्यटन क्षेत्रलाई चलायनमान बनाउन सकिने खालका योनना सहितका सुझाव दियौँ। अहिले मन्त्री ज्यू कुलदेवताका मन्दिरमा लगानी गर्न इच्छुक हुनभयो।’

उनले भने, ‘अब मन्त्रालयको नाम नै कुल देवताको मन्दिर निर्माण र जीर्णद्धार मन्त्रालय राख्नुपर्ने र मन्त्री ज्यूलाई मन्दिर मन्त्री राख्नुपर्ने भन्ने अवस्था उहाँले सिर्जना गरिदिनुभयो।’  प्रदेश सरकारले पर्यटन प्रबद्र्धनका लागि भन्दै मठमन्दिर निर्माणमा मात्र १५ करोड बढि बजेट छुट्याएको छ।

मन्त्रालयले सबैभन्दा बढि समुदाय विशेषका झण्डै साढे दुई सय मन्दिरमा पाँच लाखका दरले १० करोड बढि बजेट पारेको छ भने एक दर्जन बढि मन्दिरमा ४० लाखका दरले ६ करोड, १० लाखका दरले २० मन्दिरमा दुई करोड गरी झण्डै १५ करोड बजेट छुट्याएको छ।

कोरोना भाईरसको महामारीपछि सबैभन्दा बढि मारमा परेको पर्यटन क्षेत्रलाई लयमा फर्काउन नयाँ र महत्व राख्ने कार्यक्रम ल्याउनुपर्ने भएपनि प्रदेश सरकारले भने फेरी समुदाय विशेषका मन्दिरमा बजेट पारी कार्यकर्ता खुसी बनाउने मेसो बनाएको हो। कञ्चनपुरका पर्यटन व्यवसायी परमानन्द भण्डारीले समुदाय र जात विशेषका मठमन्दिरमा लगानी गरेर पर्यटन प्रवद्र्धन हुन नसक्ने बताए।

उनले प्रदेश सरकारले बाह्य पर्यटकलाई लक्षित गर्दै देखिने खालका योजना ल्याउन सके मात्रै पर्यटन प्रवद्र्धन सम्भव भएकाले मन्दिरमा गरिने लगानी सीमित मान्छेलाई खुसी बनाउने माध्यम मात्र हुनसक्ने जनाए।‘ती साना खालका मन्दिरमा एक दुई लाख खर्च गरेर त्यहाँका केही व्यक्तिलाई खुसी बनाउनु बाहेक पर्यटन प्रवद्र्धनमा ठुलो भूमिका हुदैन् जस्तो लाग्छ मलाई।’

यता प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भने आन्तरिक पर्यटन प्रवद्र्धन गर्न तथा सामाजिक सद्भाव कायम गराउन मठ मन्दिरमा लगानी गरिएको दावी गरिरहेको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले मागमा आधारित भएर नै मन्दिरका लागि बजेट छुट्याएको बताईन्।

‘मागकै आधारमा हो मनमर्जी ढंगले राखेको होईन्।’ उनले भनिन्, ‘सहर गाउँलाई सफा, सुन्दर बनाउने आन्तरिक पर्यटकीय गन्तव्य मन्दिर पनि हो नै। धार्मिक हिसाबले सफा सहर बनाउन, गाउँलाई राम्रो बनाउने आधार भित्रै पर्छ मन्दिर।’

उनले मन्दिरले आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन गर्न सघाउने मात्र नभएर सामाजिक सद्भाव समेत कायम गर्ने भएकाले लगानी बृद्धि गरिएको दावी गरिन्। आर्थिक वर्ष २०७५÷७६ मा पनि पर्यटन प्रवद्र्धनका लागि समुदाय विशेषका मठ मन्दिर निर्माणमा प्रदेशको पर्यटन मन्त्रालयले ३२ करोड बढि बजेट छुट्याएको थियो।

मन्त्रालयले पर्यटन क्षेत्रको ठुलो बजेट मन्दिर निर्माणमा खर्च गरेपछि चर्को आलोचना खेप्नु परेको थियो। तर फेरी अगामी आर्थिक वर्षका लागि समेत पूरानै ढर्राको बजेट ल्याएपछि विरोध भइरहेको हो भने पर्यटन प्रवद्र्धनका नाममा बजेटको दुरुपयोग हुने आशंका बढेको छ।  

 
 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस