सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा कोरोना संक्रमितद्वारा प्रदर्शन, झुटो बोलेर घर पठाएको भन्दै गाउँपालिका घेराउ

२०७७ असार २०, ०३:५२ खबर संवाददाता

अछाम: अछाममा क्वारेन्टाइनबाट घर गएका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका २९ जनामा घर गएपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

रिपोर्ट नआउँदै घर पठाएको भन्दै शनिबार संक्रमित र संक्रमितका आफन्तले गाउँपालिकामा प्रदर्शन गरेका छन्। आफुहरुलाई रिपोर्ट नआउँदै घर पठाएर समुदायमा जोखिम बढाएको भन्दै उनीहरुले गाउँपालिका घेराउ गरेर प्रदर्शन गरेका हुन। 

आरडीटी पोजेटिभ देखिएपछि गाउँपालिकाका २९ जनाको स्वाब संकलन गरेर पिसीआर परीक्षणका लागि असार ५ गते धनगढी पठाइएको थियो। शुक्रबार स्वास्थ्य मन्त्रालयले गाउँपालिकाका २९ जनामा कोरोना भाइरस पुष्टि भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो। तर, असार १५ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको भन्दै उनीहरू घर गएका थिए।

गाउँपालिकका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै झुट बोल्दा उनीहरू क्वारेन्टाइनबाट घर गएका थिए। सबै संक्रमितहरू डेढ महिनाअघि भारतबाट घर फर्किएका थिए। 

स्वास्थ्य शाखा प्रमुख रावलले रिपोर्ट नआउँदै क्वारेन्टाइनमा बसेकालाई घर जान निर्देशन दिएको स्वीकार गरे। उनले भने, ‘१४ दिन कुर्दा पनि रिपोर्ट आएन। कसैमा कोरोनाको लक्षण नदेखिएपछि आरडीटी पोजेटिभ देखिएकाहरूलाई पनि घर पठाएका हौं।’

२९ जना शुक्रबार कोरोना संक्रमित भेटिए पनि गाउँपालिका भने मौन बसेको छ। गाउँ–गाउँमा कोरोना जोखिम बढ्दा पनि संक्रमितहरू कहाँ छन् भन्नेबारे गाउँपालिका बेखबर छ। 
रावलले संक्रमितहरू आफैं घरमा आइसोलेसनमा बसे पनि हुने र बस्न चाहेमा क्वारेन्टाइनमा पनि राखिने बताए। उनले संक्रमितहरूबारे के गर्ने भन्नेबारे गाउँपालिकाको बैठक बसिरहेको बताए।

 

कमेन्ट लोड गर्नुस