सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका तीन स्थानमा सशस्त्र प्रहरीको बिओपी स्थापना

२०७७ असार १९, ०८:५२

दार्चुला : दार्चुलाका तीन स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ।

जिल्लाको मालिकार्जनु गाउँपालिका वडा नम्बर ७ जोलजिवी, लेकम गाउँपालिका वडा नम्बर ३ लाली र व्याँस गाउँपालिकाको वडा नम्बर २ दुम्लिङमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक डम्बर बहादुर विष्टले बताए।

सीमा क्षेत्रमा हुने अतिक्रमण, अवैध निकासी–पैठारी, लागुऔषध ओसारपसार, आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले भारतसंग सिमा जोडिएका तीन स्थानमा बीओपी स्थापना गरिएको उनले बताए।

बिहीबार सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले जोलजिवी र लालीमा स्वयम उपस्थित भएर पोष्टको उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक बुढाथोकीले सशस्त्रले पाएको सिमा सुरक्षाको जिम्मेवारी पूरा गर्ने बताए।

सिमा रक्षाका साथसाथै सिमामा हुने अपराधिक गतिविधि, चोरी निकासीलाई निरुत्साहित पार्न बीओपी स्थापना गरिएको उनले बताए। यसअघि दार्चुलाको व्याँस गाउँपालिका १ छाङ्गरुमा गत बैशाख ३१ गते बिओपी स्थापना भइसकेको छ।

 

कमेन्ट लोड गर्नुस