सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवालाई चार प्रतिशतमा सहुलियत ऋण

२०७७ असार १५, ०५:४३ रासस

कोभिड–१९ का कारण रोजगार गुमाएर स्वदेश फर्केकालाई लक्षित गर्दै कास्कीको रुपा गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रममलाई प्राथमिकता दिएको छ। 

गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम र बजेटमार्फत कोरोना महामारीका कारण रोजगार गुमाएर स्वदेश फर्किएका युवालाई लक्षित गरेर स्वरोजगार बनाउने र उद्यम गर्न चाहनेलाई सहुलियत ऋण दिने नीति ल्याएको बताए।

उनले वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वदेशमै स्वरोजगार बन्ने वातावरण सिर्जना गर्ने कार्यक्रमलाई जोड दिएर युवालाई चार प्रतिशतमा सहुलियत ऋण प्रदान गरिने बताए। गाउँपालिकाले युवा तथा स्वरोजगार शीर्षकमा रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ।

सात वडा रहेको गाउँपालिकामा करिब चार हजार ५०० घरधुरी छन् भने २२ हजार जनसङ्ख्या रहेको छ। गाउँपालिकाले घरघरमा गएर वैदेशिक रोजगारबाट फर्कन चाहनेको तथ्याङ्कसमेत सङ्कलन गरेको छ। एक हजार ८८१ युवा दशैँसम्ममा स्वदेश फर्कन चाहेको तथ्याङ्क गाउँपालिकासँग छ। विदेशबाट आएका ६०० र स्वदेशका ४०० गरी करिब एक हजार जनालाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत ऋण प्रदान गर्ने गृहकार्य गाउँपालिकाको छ। उनीहरुका लागि पशुपालन, कृषि, साना उद्योग र घरेलु उद्योगमा ऋण प्रदान गरिनेछ। 

गाउँपालिकाले आगामी वर्षलाई कृषि वर्षका रुपमा मनाउने तयारीका साथ कार्यक्रम अगाडि सारेको छ। कृषि वर्षका लागि एक करोड १६ लाख बजेट विनियोजन गरिएको छ। गाउँमा उत्पादिन कृषिउपज कृषि एम्बुलेन्समार्फत निःशुल्करुपमा बजारमा पु¥याउने, फलफूल तथा तरकारीको बिरुवा सहज बनाउने, एक वडा एक नर्सरी स्थापना गर्ने साथै एक घर एक करेसाबारी कार्यक्रम अघि सारेको छ। 

गाउँपालिकाले कृषकको सहजताका लागि घरघरमा मोटरसाइकलबाट प्राविधिक सेवासमेत पु¥याउँदै आएको छ। त्यसैगरी पशुपालनमा सहुलियत ऋण, उन्नत जातको पशुपालनका लागि कृत्रिम गर्भाधानमा शतप्रतिशत अनुदान दिने कार्यक्रम सार्वजनिक गरेको अध्यक्ष ओझाले बताए। पशुपालन क्षेत्रका लागि गाउँपालिकाले ९४ लाख विनियोजन गरेको छ।

गाउँपालिकाले हालै आव २०७७÷७८ का लागि ४३ करोड १६ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालूतर्फ रु पाँच करोड एक लाख २४ हजार र पूँजीगततर्फ रु १८ करोड ८० लाख २४ हजार विनियोजन गरेको अध्यक्ष ओझाले बताए।
 

कमेन्ट लोड गर्नुस