सुदूर नेपाललाई विश्वसँग जोड्दै

साँफे –मार्तडी सडक जोखिममा

२०७७ असार १३, ०२:२२ रासस

बाजुरा: लगातार वर्षाका कारण साँफे –मार्तडी सडकखण्ड पहिराको उच्च जोखिम देखिएको छ। वर्षात् शुरु भएसँगै  ताँप्रीसेरादेखि मार्तडीसम्मका दर्जनौँ स्थानमा सडकको दायाँबायाँ पहिरो खस्न थालेको छ भने आवतजावतसमेत रोकिने सम्भावना बढेको छ।

अहिले केही दिनदेखि लगातार परेको वर्षात्का कारण दर्जनौँ स्थानमा माथिबाट पहिरो बग्न थालेको छ। द्वारी क्षेत्रमा तलबाट बूढीगङ्गा नदीको कटानसँगै अम्कोट गाउँतर्फ पहिरो बग्न थालेको छ। पानीनाउलामा लगातार माथिबाट पहिरोकै कारण सडक हिलाम्य बन्नाका साथै अवरुद्ध बन्न थालेको छ। हिलाम्य सडकमा सवारी साधन गुडाउन समस्यासँगै माथिबाट ढुंगा खस्नेसमेत डर देखिएको ट्रयाक्टर चालक डबल नाथले बताए।

निर्माण भएको वर्षदेखि नै पहिराले सडकलाई क्षति पु¥याउने गरेको छ। भिरालो र पाखो जमीन भएकै कारण निर्माण सम्पन्न भएको पाँच वर्षसम्म नियमित पहिरो खस्ने र जोखिम हुने प्राविधिकले बताए पनि लगातार एकै स्थानमा पहिरो थपिँदै गएका कारण थप जटिलता भएको सरोकार भएकाहरुको भनाइ छ।

अम्कोट, द्वारी र  मलाती क्षेत्रमा सडक चल्ने  निश्चित नै छैन। अहिले एकतर्फ मात्र सवारी साधन चल्ने गरी बाटो बाँकी रहेको छ। त्रिवेणी नगरपालिकाबाट पैंमाको पहिराले बूढीगङ्गा नदीलाई अम्कोट क्षेत्रतिर धकेलिरहेको छ भने नदीले सडकसँगै बस्ती समेत पहिरासँगै कटान गर्ने अवस्था नरोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोका कारण नदी दिनानुदिन थुनिँदै गएको छ। त्यसले बाजुराको तल्लो क्षेत्रसँंगै अछामका नदी किनारामा रहेका बस्तीलाई समेत समस्या सिर्जना गरेको छ।

साँफे–मार्तडी सडकको वैकल्पिक बाटो नखोजिए सदरमुकाम मार्तडीसम्म पनि सवारी साधन सञ्चालनमा समस्या आउने देखिएको छ। द्वारी र बल्दे क्षेत्रको करीब एक किलोमिटर बाटो पूरै पहिरासँगै नदीमा मिसिने अवस्थामा आइपुगेको छ। 

अघिल्लो वर्षाद्मा नै सडक बगाएर क्षति पुगेपछि घरलाई नै भत्काई सडक बनाइएको थियो। हिउँदमा कुनै पहल नगरिँदा र वर्षातमा मात्र विकल्प खोज्ने प्रवृत्तिले अमकोट बस्तीका सर्वसाधारणले यस वर्ष पनि निकै दुःख पाउने अमकोटका नवराज पाध्यायले गुनासो गरे।
 

कमेन्ट लोड गर्नुस