कैलालीको गौरीगंगा नगरपालिका पनि सिल
धनगढी: कैलालीको गौरीगंगा नगरपालिका सिल गरिएको छ। असार ७ गते आइतबार बसेको नगर कार्यपालिकाको बैठकले अर्को सूचना जारी नहुँदासम्म नगरपालिका सिल गर्ने निर्णय गरेको हो।
कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि नियन्त्रण गर्न थप चुनौतीपूर्ण हुने भन्दै नगरपालिका सिल गरिएको जनाइएको छ। नगरपालिकामा अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवासँगै व्यापारव्यवसाय समेत अर्को सूचना जारी नभएसम्म संञ्चालन नगर्न निर्देशन दिइएको नगरप्रमुख भीमबहादुर देउवाले बताए। साथै नगरवासीलाई विना काम बाहिर ननिस्कन समेत आग्रह गरेको उनले बताए।
यसअघि कोरोना संक्रमित बढेको भन्दै कैलालीको गोदावरी नगरपालिका सिल भइसकेको छ। अहिलेसम्म कैलालीको गौरीगंगा नगरपालिकामा मात्रै ५० जनामा कोरोना पुष्टि भएको छ। भने, सोमबारको नयाँ आँकडा अनुसार कैलालीमा संक्रमितको संख्या तीन सय ४१ पुगेको छ।