सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका क्वारेन्टिनमा बसिरहेकाहरु भन्छन् – १६ दिनसम्म रिपोर्ट आएन अब घर जान्छौं

२०७७ असार ८, ०३:०८ खबर संवाददाता

प्रताप ओली, बझाङ: स्वाब संकलन गरिएको १६ दिनसम्म पनि पिसीआर रिर्पोट नआउँदा क्वारेन्टिनमा बसेकाहरु आक्रोशित भएका छन्। थलारा गाउँपालिका २ का विभिन्न क्वारेन्टिनमा बसिरहेकाको स्वाब संकलन गरिएको दुई हप्ता सम्मपनि पिसीआर रिर्पोट नआउँदा उनीहरु आक्रोशित बनेका हुन्। भारतको नयाँ दिल्लीबाट जेठ ९ गते बझाङमा पाइला टेकेका उनीहरुले क्वारेन्टिनमा महिनादिनसम्म थुनिदा असहज भएको बताइरहेका छन्।

दुई हप्ता अगाडी आरडिटी परीक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएपछि नमुना स्वाब संकलन गरिएको वडाध्यक्ष हेम खड्काले बताए। उनले भने, ‘नमुना स्वाब संकलन गरेको दुई हप्ता बितिसक्यो रिपोर्ट नआउँदा म प्रति आक्रोश देखाउन थालेका छन्। अबको दुईदिनभित्र रिपोर्ट नआए सिधै घर जान्छौं भनेर मलाई चेतावनी आएको छ। सरकारको लापरबाहीले स्थानीय तहका जनप्रतिनिधिलाई असहज भएको छ।’

थलारा २ का शारदा मावि, खापर आधारभूत विद्यालय र जनप्रिय आधारभूत विद्यालयमा राखिएका ८ जनाको दुई हप्ता अगाडी नमुना स्वाब संकलन गरिएको थियो। रिपोर्ट नतिजाको पर्खाइमा बसिरहेका उनीहरुले क्वारेन्टिनमा व्यवस्थापन नभएकाले दिन विताउन असहज भएको बताएका छन्। शारदा माविको क्वारेन्टाइनमा बसिरहेका भजन विकले भने, ‘रिपोर्टको पर्खाइले सिमा नाघिसक्यो। क्वारेन्टाइन व्यवस्थित छैन। बर्खाको समय हुँदा विद्यालयको छाना चुहिन थालेको छ। सर्प कोठाभित्रै छिर्न थालेका छन्। एकहप्ताभित्र हामीले ४ वटा सर्प कोठाभित्रै मारिसक्यो। कुन दिन सर्पले डसेर मरिन्छ। पानी पर्दा भेल बगेर कोठामै पुग्ने गरेको छ। कसरी बस्नु अब। दुई दिनभित्र रिर्पोट नआए घर जान्छौं जे परे पर्ला।’

थलारा गाउँपालिका वडा नम्बर २ मात्रै ४१ जना क्वारेन्टाइनमा बसिरहेका छन्। खानामा पनि रसायनयुक्त बजारको चामल र भटमासको दाल मात्रै खाँदाखाँदा दिक्दार भएको शारदा क्वारेन्टाइनमा बसिरहेका अर्का महाबिर खड्काले बताए। उनले भने, ‘घरमा असारे कामको चटारो छ। रिपोर्ट आए त ढुक्क हुन्थ्यौं। अरु रोग त केही छैन जस्तो लाग्छ तर सोच्दा सोच्दै मानसिक विरामी भइसक्यौं।’

उता वडाध्यक्ष हेम खड्काले क्वारेन्टिन व्यवस्थापन गर्न नसकेको स्वीकारे। उनले लकडाउन अवधिभर गाउ“पालिकाले ५ हजार बढीको व्यवस्थापन गर्दागर्दै रकम सकिएको र अहिले क्वारेन्टाइनमा बसेकाहरुलाई खाना र लुगाकपडा घरबाटै मगाउन लगाएको बताए। स्वास्थ्य कार्यालय बझाङले सार्वजनिक गरेको आइतबारको तथ्याङ्कअनुसार अझै पनि थलारा गाउ“पालिकामा ३ सय ९ जना क्वारेन्टिनमा बसिरहेका छन्। यस्तै बझाङका अन्य स्थानीय तहका क्वारेन्टिनमा बसिरहेकाहरु पनि समयमै रिपोर्ट नआउँदा आक्रोशित बनेका छन्। सुदूरपश्चिममा एउटा मात्रै क्वारेन्टिन भएकाले स्वाबको चाङ लाग्ने गरेको छ। 

हाल बझाङमा पिसीआर परिक्षणका लागि नमुना स्वाब संकलन गरिएको व्यक्तिको संख्या ९ सय ६९ जना पुगेको छ भने ३ सय ९३ जनाको मात्रै नतिजा प्राप्त भएको छ। अझैं ५ सय ७६ नमुनाको नतिजा आउन बाँकी छ। बझाङ जिल्लाभित्रै १७ जना कोराना संक्रमित देखिएका छन्। जिल्लाबाहिर संक्रमितको संख्या ४ जना रहेको छ। २ जना कोरोना जितेर घर फर्किसकेका छन्।
 

कमेन्ट लोड गर्नुस