सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका प्रत्येक स्थानीय तहमा आइसोलेसन वार्ड बनाउन माग गर्दै नेवि संघको प्रदर्शन

२०७७ असार ८, ०२:०७ खबर संवाददाता

धनगढी: प्रत्येक स्थानीय तहमा आइसोलेसन वार्ड बनाउन माग गर्दै नेपाल विद्यार्थी संघ डडेल्धुराले प्रदर्शन गरेको छ। स्वाव लिएको १६औं दिनसम्म पनि रिपोर्ट नआउनु र उनीहरुको रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाउने गरेकाले कोरोनाको जोखिम बढ्ने भन्दै सोमबार जिल्ला सदरमुकामको बागबजारमा नेवि संघले प्रदर्शन गरेको हो। 

नेवि संघका कार्यकर्ताले विभिन्न पम्प्लेट प्रर्दशन गरेर सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरुले जिल्लाका सम्पूर्ण स्थानीय तहमा आइसोलेसन वार्ड हुनुपर्ने, पिसीआर रिपोर्ट पोजेटिभ आएपनि १४ दिनमा घर पठाउने सरकारको निर्णय सच्याउनुपर्ने, घर पठाइएकाहरुको समेत निगरानी गर्नुपर्ने, क्वारेन्टिनमा सरकारी मापदण्ड अनुसार सबै व्यवस्थापन गर्नुपर्ने र कोरोना  रोकथामका नाममा  स्थानीय, प्रदेश र संघ सरकारले खर्च गरेको रकम सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन्। 

साथै सरकारी बजेट असारे विकासमा खर्च नगरेर त्यसलाई रकमान्तर गरी कोरोना नियन्त्रणमा खर्च गनुपर्ने आफुहरुको माग रहेको नेवि संघका प्रतिनिधि जगत ऐरले बताए। उनले असारे विकासमा भ्रष्टाचार गर्ने हरेक तहका विरुद्धमा नेवि संघ अझै कडा रुपमा प्रस्तुत हुने चेतावनीसमेत दिएका छन्। 

कमेन्ट लोड गर्नुस